
काठमाडौं, मंसिर १९ । १३औं दक्षिण एसियाली खेलकुद (साग)मा साइक्लिङ नेपालका लागि सर्वाधिक सफल खेल बनेको छ ।
नेपालले चार स्वर्णसहित १२ पदकका लागि भएको खेलमा चार स्वर्णपदकसहित १० पदक जितेर कीर्तिमान बनाएको हो ।
पहिलो दिन डाउनहिलको पुरुषतर्फ राजेश मगरले स्वर्ण, निरभ श्रेष्ठले रजत तथा प्राचित थापा मगरले कास्यपदक जिते ।
डाउनहिल महिलातर्फ निश्मा श्रेष्ठले स्वर्ण र जमुना थापाले रजत जितिन् । कास्यपदक भने भारतीय खेलाडी यशोधरा मधुकरले जितिन् ।
त्यस्तै, बिहीबार दोस्रो दिन नेपालले क्रसकन्ट्रीमा दुई स्वर्णसहित पाँचओटा पदक जितेको छ ।
महिलामा लक्ष्मी मगरले स्वर्ण तथा उषा खनालले रजतपदक जितिन् भने भारतीय खेलाडी प्रनिता प्रफूल सोमनले कास्य जितिन् ।
लक्ष्मीले १६ किलोमिटरको दूरी एक घन्टा २० मिनेट २० सेकेन्डमा सकाइन् । उषाले एक घन्टा ३५ मिनेट ५२ सेकेन्डमा दूरी सकाइन् ।
तेस्रो भएकी प्रनिताले निर्धारित् दूरी एक घन्टा ३६ मिनेट २९ सेकेन्डमा सकाइन् ।
त्यस्तै, क्रसकन्ट्रीको पुरुषमा बुद्धिबहादुर तामाङले स्वर्ण, राजीव राईले रजत तथा ओकेशराज बज्राचार्यले कास्यपदक जिते ।
२० किलोमिटरको दूरी बुद्धिले एक घन्टा १९ मिनेट ८ सेकेन्डमा सकाएका थिए ।
त्यस्तै, राजीवले एक घन्टा १९ मिनेट ४० सेकेन्डमा तथा ओकेशले एक घन्टा २१ मिनेटमा दूरी पूरा गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्