१७ श्रावण २०८२, शनिबार | Sat Aug 2 2025


महिला फुटबलमा नेपाल फाइनलमा, भारतसित स्वर्ण भिडन्त, सावित्राको कीर्तिमानी गोल


0
Shares

पोखरा, मंसिर १९ । १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत् फुटबलमा नेपाली महिला टोली फाइनलमा पुगेको छ ।

बिहीबार पोखरा रंगशालामा लगातार दोस्रो खेल जित्दै नेपाल फाइनलमा पुगेको हो ।

नेपालले बिहीबार माल्दिभ्सलाई ३–० ले हरायो । खेलमा सावित्रा भण्डारी ‘साम्बा’ले ‘ह्याट्रिक’ गरिन् ।

खेलको १८औं मिनेटमा पहिलो गोल गरेकी सावित्राले २२औं मिनेटमा दोस्रो तथा ‘इन्जुरी’ समयमा पेनाल्टीमार्फत् तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरेकी हुन् ।

योसँगै सावित्रा नेपालका लागि सर्वाधिक गोल गर्ने पहिलो खेलाडी बनेकी छन् । अनु लामाको ३५ गोलको कीर्तिमान तोड्दै सावित्राले ३८ गोल गरिसकेकी छन् ।

पुरुषतर्फ भने हरि खड्का र नीराजन रायमाझीको नाममा सर्वाधिक १३ गोलको कीर्तिमान छ ।

फाइनल प्रतिद्वन्द्वी भारत

सागको स्वर्णपदकका लागि फाइनलमा नेपालले भारतसित खेल्ने भएको छ । लगातार दुई खेल जित्दै भारत पनि फाइनलमा पुगिसकेको छ ।

नेपाल र भारतले शनिबार आपसमा खेल्नुअघि नै शीर्ष दुईमा रहँदै फाइनल खेल्ने भएका हुन् ।

लगातार तेस्रोपटक सागको फाइनलमा पुगेको नेपालको प्रतिस्पर्धी भारत नै हुँदै आएको छ । यसअघिका दुवै संस्करणमा भारतले स्वर्णपदक जितेको थियो ।