
काठमाडौं, साउन २४ । जापानमा जारी टोकियो ओलम्पिक आइतबार सकिंदैछ ।
ओलम्पिकको अन्तिम दिन आइतबार बिभिन्न ८ खेलका १३ स्वर्ण पदकको भिडन्त भएको छ । ग्रिष्मकालिन ओलम्पिकको यो ३२ औं संस्करणको प्रतियोगितामा अमेरिका पदक तालिकामा च्याम्पियन बनेको छ ।
प्रतियोगिता सुरु भएको चार दिनसम्म जापान शिर्ष स्थानमा रहेको थियो । त्यसपछि चीनले आफुलाई शिर्ष स्थानमा राख्न सफल भएको थियो तर अन्तिम दुई दिनमा अमेरिकाले एकपछि अर्को स्वर्ण जित्दै टोकियो ओलम्पिकको पदक तालिकामा शिर्ष स्थानमा रहेर टुंग्याएको छ ।
३९ स्वर्णसहित कुल १ सय १३ वटा पदक जितेको अमेरिका शिर्ष स्थानमा रहि च्याम्पियन बन्दा दोस्रो स्थानको चीनले ३८ स्वर्ण, ३२ रजत र १८ काश्यका साथ ८८ पदक हात पार्यो ।
जापानले २७ स्वर्ण, १४ रजत र १७ काश्यका साथ ५८ पदक जित्दै तेस्रो स्थानमा रह्यो । बेलायतले २२ स्वर्ण, २१ रजत र २२ काश्यका साथ ६५ पदक हात पार्यो । यस पटक टोकियो ओलम्पिकमा ६५ देशले स्वर्ण पदक जित्दा ९३ देशले पदक तालिकामा नाम लेखाएका छन् ।
यसैबीच, आज साँझ एक विशेष समारोहकोबीच टोकियो ओलम्पिकको समापन हुनेछ । समापन समारोहमा ओलम्पिकको झण्डा फ्रान्सलाई हस्तान्तरण गरिनेछ । सन् २०२४ को ओलम्पिक फ्रान्सको पेरिसमा हुनेछ ।
प्रतिक्रिया दिनुहोस्