२६ बैशाख २०८२, शुक्रबार | Fri May 9 2025


‘एस.एस.डि.आर.सिमा स्वा. ‘पवित्रा सिटौला उप्रेती समाजसेवा पुरस्कार’ स्थापना


0
Shares

काठमाडौ । सामाजिक सेवाको उद्देश्यले संचालित विशेष स्कुल तथा पुनर्स्थापना केन्द्र (एस.एस.डि.आर.सि ) को व्यवस्थापनमा रहने गरी स्वा. ‘पवित्रा सिटौला उप्रेती समाजसेवा पुरस्कार’ स्थापना गरिएकाे छ ।

सिटाैलाकै ईच्छा अनुसार उहाँका भाइ तुलसी प्रसाद उप्रेतीले स्वर्गिय पवित्रा सिटौला (उप्रेती) काे नाममा साे पुरस्कारकाे स्थापना गर्नु भएकाे हाे । उप्रेतीले पुरस्कारका लागि पाँच लाख एक रुपैयाँ बराबरको अक्षयकोष स्थापना गर्नुभएको छ । तुलसी प्रसाद उप्रेती कोषको संरक्षक हुनुहुनेछ ।

दुर्गादाश उप्रेतीकी नातिनी धर्मानन्द उप्रेती तथा कौशल्या उप्रेतीकी सुपुत्री स्वर्गिय पवित्रा सिटौला उप्रेतीले आफ्नो जीवनकालमा सधैं नै सामाजिक सेवालाई आफ्नो जीवनको मूल उद्देश्य बनाई सक्रिय रहँदै आउनुभएको थियो ।

तेह्रथुम जिल्ला आठराई ईवामा जन्मिनु भएकी स्व‍‍. पवित्रा धेरै बर्ष आमा बुवाका साथ झापा जिल्ला स्थित सुरूंगार घैलाडुब्बा हाल कनकाई उप नगरपालिकामा बस्दै आउनु भएको थियो । बिगत २० बर्ष देखि आफ्ना कान्छा भाई तुलसी प्रसाद उप्रेतीसँग सुकेधारा काठमाडौं बस्दै आउनु भएकी स्व. पवित्रा सिटौला उप्रेती एक समाजसेवी हुनुहुन्थ्यो ।

उहाँले करिब ५ बर्ष अघि नै आफ्ना बुवा मुवाका नाममा ‘धर्मानन्द कौशल्या देवी महिला सशक्तिकरण पुरस्कार कोष’ को स्थापना गर्नु भएको थियाे । एस.एस.डि.आर.सि को भवन निर्माण कोषमा उल्लेखनिय सहयोग पुर्याउनु भएको, झापा घैलाडुवा, चम्पापुर स्थित गायत्री मन्दिरलाई तथा बिभिन्न ठाँउमा रहेका आर्य समाज भवनहरू लगायत ब्यतिगत तवरमा आवश्यकतामा रहेका ब्यक्तिहरूलाई सहयोग पुर्याउदै आउनु भएको थियो।

त्यसैगरि संरक्षक उप्रेतीका अनुसार उक्त कोषले जेष्ठ नागरिक, बालबालिका, अपांगता भएका व्यक्ति, महिला लगायत सामाजिक हक हितमा काम गर्ने सामाजिक संस्था, गैह्र सरकारी संघ संस्था एवम् उल्लेखित क्षेत्रमा विशेष योगदान पुर्‍याउने व्यक्ति छनौट गरि वार्षिक रूपमा पच्चिस हजार रुपैयाको ‘पवित्रा सिटौला (उप्रेती) समाजसेवा पुरस्कार’ प्रदान गर्नेछ ।

उक्त कोषको सम्पूर्ण व्यवस्थापन विशेष स्कुल तथा पुनर्स्थापना केन्द्रले गर्नेछ । विशेष स्कुल तथा पुनर्स्थापना केन्द्र विगत एघार वर्षदेखि अटिजम भएका बालबालिकाहरूको सेवामा समर्पित छ । केन्द्रकी अध्यक्ष सविता उप्रेतीले स्व. पवित्रा सिटौला उप्रेतीकाे नाममा पुरस्कार स्थापना गरेकाेमा धन्यवाद तथा खुशी व्यक्त गरेको छ ।