३० बैशाख २०८२, मंगलबार | Wed May 14 2025


एक बर्षमा देशभर सवारी दुर्घटनाबाट दुई हजार सात सय ८९ जनाको मृत्यु


0
Shares

गृष्माराज भण्डारी, सन्दीप पौड्याल र सानु माली (इमेज)

काठमाडौं, मंसिर १८ । पछिल्लो समय देशभर सवारी दुर्घटनाको क्रम बढेको छ । राजमार्ग केन्द्रित रहेर ट्राफिक प्रहरीले सवारीसाधन जाँचमा कडाइ गरेपनि दुई महिनाको अवधिमा मात्र सयौंले ज्यान गुमाएका छन् ।

आर्थिक वर्ष २०७५/७६ मा देशभर सवारी दुर्घटनामा दुई हजार सात सय ८९ जनाको मृत्यु भएको छ । यो अवधिमा १३ हजार तीन सय ६६ सवारी साधन दुर्घटनामा परेका थिए । जसमा चार हजार तीन सय ७६ जना गम्भीर घाइते र १० हजार तीन सय ६० जना सामान्य घाइते भएका थिए ।

पछिल्लो दुई महिनाको सवारी दुर्घटनाको तथ्याङ्क हेर्ने हो भने पनि सयौं व्यक्तिले ज्यान गुमाएका छन् । मंगलबार बाग्लुङको बडिगाड गाउँपालिकास्थित कोप्चेमा ठूलो दुर्घटना भयो ।

गुल्मीको तम्घासबाट बागलुङको निसिखोला जाँदै गरेको जीप दुर्घटनामा पर्दा १४ जनाको घटनास्थलमै मृत्यु भयो । तीन जना गम्भीर घाइते भए । यसअघि, मंसिर ११ मा अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाको नरपानीमा बस दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको थियो । १० जना घाइते भएका थिए ।

सडकको पूर्वाधार सुधार नहुनु, चालकको लापरवाही, पैदल यात्रुको कारण पनि दुर्घटना बढ्ने गरेको यातायात पूर्वाधार विज्ञ आशिष गजुरेल  बताउछन्  ।

साँघुरा सडक, डरलाग्दा घुम्तीमा गाडीको अवस्था हेरेर रुट परमिट दिनुपर्ने विज्ञ गजुरेलको सुझाव छ

पछिल्लो समय पहाडी जिल्लाका सडकमा दुर्घटना बढेको छ । गत कात्तिक २७ गते सुकुटेमा बस दुर्घटना हुँदा १९ जनाको मृत्यु भयो भने ५४ जना घाइते भए । सोही दिन म्याग्दीको मालिका गाउँपालिका वडा नं ७ बिममा यात्रुबाहक बस दुर्घटना हुँदा चार जनाको घटनास्थलमा मृत्यु भयो भने अन्य १५ जना घाइते भए । कात्तिक २० गते अर्घाखाँचीको नरपानीमा कार दुर्घटना हुँदा एकै परिवारका तीन जनाको मृत्यु भयो भने दुई जना गम्भीर घाइते भए ।

मंसिर १३ गते दैलेखको गुराँस गाउँपालिका वडा नम्बर ४ मुंग्रामा माइक्रोबस दुर्घटना हुँदा तीन जनाको ज्यान गयो । मंसिर १५ गते सुनसरीको कोशी गाँउपालिकास्थित पूर्व पश्चिम राजमार्गको हरिपुरमा एम्बुलेन्स र ट्रक ठोक्एिर दुर्घटना हुँदा सात जनाको मृत्यु भयो । यि त दुई महिनाको अवधिमा भएका केही प्रतिनिधि दुर्घटना मात्र हुन् । यो बाहेक दिनहुँ हुने साना दुर्घटनाको त लेखाजोखै छैन् ।

ट्राफिक प्रहरीका अनुसार मानवीय कारण अन्तर्गत तीव्र गतिमा सवारी चलाउनु र चालकको लापरवाहीकै कारण बढी दुर्घटना हुने गरेको छ । २५ प्रतिशतभन्दा बढी दुर्घटना चालकको लापरवाहीकै कारण भएको देखिएको छ ।

तीव्र गतिलाई कम गर्नसके ३० देखि ४० प्रतिशत दुर्घटनामा कमी आउने समेत तथ्याङ्कले देखाएको छ । यति हुँदा पनि हरेक महिनाजसो हुने दुर्घटनाप्रति राज्य र सरोकारवाला निकायको तदारुकता शून्य देखिएको छ ।

भिडियो हेर्नुहोस्