२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


मन्दिरको सुन चोर्ने दुईजना कारागार चलान


0
Shares

बैतडी, साउन २२ । मन्दिरको सुन चोरेको आरोप लागेर प्रहरी हिरासतमा रहेका २ जनालाई कारागार चलान गरिएको छ ।

बैतडीको दोगडाकेदार गाउँपालिका १ रीमस्थित लटिनाथ मन्दिरको सुनचोरी प्रकरणमा पक्राउ परेका ७ जनामध्ये २ जनालाई कारागार चलान गरिएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिनुभयो ।

कारागार चलान गरिनेमा दोगडाकेदार गाउँपालिका १ रिमका धनबहादुर कार्की र केशवराम सार्की रहेका छन् । जिल्ला अदालत बैतडीका न्यायाधीश तीलकबहादुर कार्कीको एकल इजलासले सो घटना संलग्न रहेका धनबहादुर र केशवरामलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो । धनबहादुर र केशवरामले मन्दिरको भण्डार घर फोडी सुन चोरी कार्यमा मुख्य संलग्न रहेका बताइएको छ ।

मन्दिरबाट चोरिएको सुन खरीद गरेको आरोपमा पक्राउ परेका सुनचाँदी व्यवसायी बैतडीको दशरथचन्द नगरपालिका ४ गढीका कञ्चन पौडेल र गणेश पौडेल तथा दार्चुलाको शैल्यशिखरका भुवनसिंह साहु धरौटी रिहा भएका छन् । उनीहरु जनही ५० हजार रुपैयाँ धरौटीमा रिहा भएका हु्न् ।

यस्तै मन्दिरको सुनचोरी प्रकरण पक्राउ परेका दोगडाकेदार गाउँपालिका १ रीमका लालबहादुर कार्की र हरिकृष्ण सार्की जनही १० हजार धरौटीमा छुटेका प्रहरीले जनाएको छ ।

लटिनाथ मन्दिरमा गत मंसिरमा सुन चोरी भएको भएपनि स्थानीयहरुले गत चैतमा मात्रै थाहा पाएका थिए । मन्दिरको सुन चोरिएको बिषयमा केही महिना गाउँमै सोधपुछ गरिएको र असार अन्तिम साता प्रहरीमा उजुरी दिएको थियो ।

उजुरीपछि प्रहरीले पौने चार तोला सुन सहित ७ जनालाई नियन्त्रणमा लिएको छ । ४ जना स्थानीय र तीनजना सुनचाँदी व्यवसायीलाई नियन्त्रणमा लिएर अनुसन्धान सकेर अदालतमा पेश गरिएको थियो । पक्राउ परेका उनीहरुसँग पौने ४ तोला मात्रै सुन फेला परेको भएपनि मन्दिरबाट ९ तोला सुन चोरी भएको खुल्नमा आएको छ ।