१७ श्रावण २०८२, शनिबार | Sat Aug 2 2025


२३ स्वर्णसहित नेपाल ‘साग’ तालिकाको शीर्ष स्थानमा कायमै


0
Shares

काठमाडौं, मंसिर १७ । १३औं दक्षिण एसियाली खेलकुद (साग)को पदकतालिकामा नेपाल शीर्ष स्थानमा रहेको छ ।

मंगलबारका खेल सकिँदासम्म नेपालले जितेको स्वर्णपदकको संख्या २३ पुगेको छ ।

मंगलबारका खेलमा नेपालले एथ्लेटिक्समा एक, करातेमा दुई, उसुतर्फ दुई, तेक्वान्दोमा दुई र दुवाथलनतर्फ एक स्वर्ण जितेको हो ।

मंगलबार एथ्लेटिक्सको १० हजार मिटर दौडमा सन्तोषी श्रेष्ठ, करातेतर्फ महिला कुमुतेको ६८ केजीमुनि सुनिता महर्जन र ६७ केजीमुनिको कुमुतेमा नविन रसाइलीले स्वर्णपदक जिते ।

उसुमा छाङ क्वान थाउलोमा सुस्मिता तामाङ र विजय सिंजालीले स्वर्णपदक जिते ।

तेक्वान्दोमा ४६ केजीमुनि तौल समूहमा काजल श्रेष्ठ र ६८ केजीमुनि तौल समूहमा वीरबहादुर महराले स्वर्णपदक दिलाए ।

ट्रायथलनअन्तर्गत्को दुवाथलनमा हिमाल टमाटाले स्वर्णपदक जिते ।

नेपालले मंगलबारसम्म २३ स्वर्ण, ९ रजत र १२ कास्यसहित ४४ पदक जितेको छ ।

दोस्रो स्थानको भारतले १२ स्वर्ण, १२ रजत र ९ कास्यसहित ३३ पदक जितेको छ ।

तेस्रो स्थानको श्रीलंकाको ५ स्वर्ण, १४ रजत र २७ कास्यसहित ४६ पदक रहेको छ ।

चौथो स्थानको पाकिस्तानको ५ स्वर्ण, ११ रजत र ९ कास्यसहित २५ पदक जितेको छ ।

बंगलबादेश ४ स्वर्ण, ३ रजत र २१ कास्यसहित २८ पदक बटुल्दै पाँचौं स्थानमा छ ।

एक स्वर्णपदक जितेको माल्दिभ्स छैटौं स्थानमा छ भने पुछारको भुटानले ३ कास्यपदक जितेको छ ।

नेपालले सोमबारमात्रै तेक्वान्दो र करातेमा ७/७ तथा ट्रायथलनमा एक गरी एकैदिन १५ स्वर्णपदक जितेको थियो ।