Logo १५ श्रावण २०८३, शुक्रबार | Fri Jul 31 2026


त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि १९ खेलाडी बन्द प्रशिक्षणमा


0
Shares

काठमाडौं, साउन २० । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि १९ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।

क्यानले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै बन्द प्रशिक्षणका लागि छनौट गरिएका १९ खेलाडीको बारे जानकारी गराएको हो । बन्द प्रशिक्षणमा बोलाईएका खेलाडीमा ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, आरिफ शेख, दिपेन्द्र सिंह ऐरी, आशिफ शेख, गुलशन झा, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सन्दीप लामिछाने, सोमपाल कामी, कमल सिंह ऐरी, अविनाश बोहरा, शाहब आलम, शुशन भारी, शरद भेषवाकर, बिक्रम शोब, पवन सर्राफ र रोहित कुमार रहेका छन् ।

क्यानले बोलाएको बन्द प्रशिक्षणमा गुलशन झा पहिलो पटक परेका छन् । यसअघि २० सदस्यीय टोली घोषणा गरिएकोमा पारस खड्काले हिजो सन्यास लिएपछि १९ सदस्यीय टोलीले प्रशिक्षण गर्नेछन् ।

क्यानले नेपाली टोलीको बन्द प्रशिक्षण बिहीबारबाट सुरु हुने जनाएको छ । प्रशिक्षणमा सहभागी हुने सबैको पीसीआर परिक्षण भईसकेको क्यानले जनाएको छ । सिरिजको तयारीका लागि मुख्य प्रशिक्षक डेभ वाटमोर नेपाल आईसकेका छन् । नेपाल, ओमान र अमेरिकाबीचको सिरिज आगामी सेप्टेम्बरमा ओमानमा हुनेछ ।