
काठमाडौं, मंसिर १७ । १३औं दक्षिण एसियाली खेलकुद (साग)को पुरुष फुटबलमा नेपालले विजयी सुरुआत गरेको छ ।
मंगलबार काठमाडौंको दशरथ रंगशालामा भएको खेलमा नेपालले भुटानलाई ४–० को फराकिलो अन्तरले पराजित गरेको हो ।
नेपाललाई जिताउनेक्रममा कप्तान सुजल श्रेष्ठले दुई तथा अभिषेक रिजाल र मिक्छेन तामाङले एक/एक गोल गरे ।
मध्यान्तरसम्म एक गोलमात्र गरेको नेपालले मध्यान्तरपछि तीन गोल थपेको थियो ।
सुजलले खेलको पाँचौं र ५०औं तथा अभिषेकले ६५औं र मिक्छेनले ७७औं मिनेटमा गोल गरेका हुन् ।
साविक विजेता नेपालले अब आफ्नो दोस्रो खेलमा बुधबार साँझ ५ बजे श्रीलंकासित खेल्नेछ । प्रतियोगितामा पाँच टोली सहभागी छन् ।
महिला फुटबलमा पनि विजयी
‘साग’ महिला फुटबलमा पनि नेपालले विजयी सुरुआत गरेको छ ।
मंगलबारै पोखरामा रंगशालामा भएको महिला फुटबलमा नेपालले श्रीलंकालाई १–० ले पराजित गरेको हो ।
नेपालका लागि खेलको अन्त्यतिर सरु लिम्बूले निर्णायक गोल गरेकी थिइन् ।
त्यसअघि, नेपालले गोल गर्ने केही प्रयास खेरफालेको थियो ।
चार टोली सहभागी प्रतियोगिताको दोस्रो खेलमा नेपालले बिहीबार माल्दिभ्ससित खेल्नेछ ।
प्रतिक्रिया दिनुहोस्