-विकास पौडेल/ईमेज
चितवन । चितवनको दक्षिण भेगमा रहेको माडी नगरपालिकाको सोमेश्वर गढीमा मूर्तिहरुको फूलबारी बनेको छ ।
नेपालका एकसय पर्यटकीय गन्तव्यमध्यकोे सोमेश्वरगढीमा पर्यटकहरुको आकर्षण बढाउन नगरपालिकाले करिब ५० वटा मूर्ति निर्माण गरेको हो ।
चितवनको माडी नगरपालिकाको सोमेश्वरगढीलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न मूर्तीको फूलवारीको बनाइएको छ ।
गढी वरपर रहेका ढुङ्गाहरुमा नै मूर्ति कुँदेर मूर्तिको फूलबारीको रुपमा चित्रण गर्न खोजिएको हो ।
नेपाल भारतको सीमा नजिक रहेको सोमेश्वर गढी नेपालका एकसय पर्यटकीय गन्तव्यमध्येको एक हो ।
माडी नगरपालिका र नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानको मूर्ति विभागको संयुक्त आयोजनामा भएको राष्ट्रिय प्रस्तर मूर्तिकलामा सहभागी २९ जना मूर्तिकारहरुले ५० वटा मूर्ति बनाएको माडी नगरपालिकाका मेयर ठाकुरप्रसाद ढकालले जानकारी दिए ।
एकै क्षेत्रमा धेरै मूर्ति निर्माण गरिएको सोमेश्वरगढी क्षेत्रलाई खुल्ला संग्रहालयको रुपमा चिनाउन सकिने नेपाल ललितकला प्रतिष्ठानका मूर्ति विभाग प्रमुख लालकाजी लामाको भनाइ छ । एकै स्थानमा धेरै मूर्ति हुदाँ भविष्यमा मूर्तिसम्बन्धी अनुसन्धान गर्न पनि सहज हुने उनी बताउँछन् ।
गढी आसपास अहिले समसायमिक विषयवस्तु झल्किने सुन्दर मूर्तिहरु देख्न सकिन्छ । जंगलमै रहेको ढुङ्गाहरुमा मूर्ति कुँदिएको नेपालमा नै पहिलो पटक भएको माडी आयोजकले जनाएको छ ।
ओझेलमा परेको सोमेश्वर गढी क्षेत्रमा निर्माण गरिएको मूर्तिहरु सुन्दर रहेकोले पर्यटकको आकर्षण बढ्दै जाने स्थानीय बोदराज महत्ताको भनाइ छ ।
नेपाल भारत सीमा नजिकको सोमेश्वर गढीमा मूर्तीहरुको निर्माणले पर्यटकसँगै स्थानीयको चहलपहल बढ्ने भएकाले भारतबाट हुन सक्ने सम्भावित सीमा अतिक्रमणबाट सुरक्षित हुने विश्वास लिइएको छ ।




प्रतिक्रिया दिनुहोस्