काठमाडौं, मंसिर १६ । १३औं दक्षिण एसियाली खेलकुद (साग)को तेक्वान्दोमा नेपालले ७ ओटा स्वर्णपदक जितेको छ । नेपालले एक रजत र ४ कास्यपदकसमेत जितेको छ ।
सोमबार आयशा शाक्यले दुईओटा, सिना मादेन लिम्बू, कमल श्रेष्ठ र पार्वती गुरुङ तथा महिला टिमको २३ वर्षमुनि र २३ वर्षमाथिले एक/एक स्वर्णपदक जितेका हुन् ।
आयशाले पुम्सेको २९ वर्षमाथिको उमेर समूहमा स्वर्णपदक जितेकी हुन् । त्यस्तै, आयशा र सन्जीवकुमार ओझाको जोडीले २९ वर्षमाथिको पुम्सेमै स्वर्णपदक जितेको छ ।
त्यस्तै, सीनाले २३ वर्षमुनिको महिला उमेर समूहको स्पर्धामा भारतकी रुपा बयोरलाई पछाडि पार्दै स्वर्ण जितेकी हुन् ।
त्यस्तै, पुरुष २९ वर्षमुनिको उमेर समूहमा कमलले भारतका राहुल जैनलाई पछि पार्दै स्वर्णपदक जिते ।
त्यस्तै, पार्वतीले पुम्सेको २९ वर्षमुनिको तौल समूहमा स्वर्णपदक जितेकी हुन् । श्रीलंकाले रजतपदक जितेको छ ।
२३ वर्षमुनिको पुम्सेको महिला र २३ वर्षमाथिको पुम्सेको महिलामा नेपालले स्वर्णपदक जितेको छ । २३ वर्षमुनि निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिनाले तथा २३ वर्षमाथि निता गुरुङ, सुशीला राई र प्रशंसा क्षेत्री रहेको टिमले स्वर्ण जितेको हो ।
तेक्वान्दोमा २३ वर्षमुनिको उमेर समूहमा कृष्णबहादुर तामाङले रजतपदक दिलाएका थिए ।
त्यस्तै, २९ वर्षमाथिको पुम्सेमा रेजिन रिमालले, २३ वर्षमुनिको पुम्से जोडीमा अश्मिन राउत र सिना लिम्बू मादेन, २९ वर्षमुनिको जोडीमा जितबहादुर बोट र पार्वती गुरुङ तथा २३ माथिको पुरुष समूहमा जितबहादुर बोट, कलम श्रेष्ठ र प्रेमबहादुर लिम्बूले नेपाललाई कास्यपदक दिलाए ।
तेक्वान्दोमा सोमबार पहिलो दिन १३ स्वर्णपदकको छिनोफानो भएकामा श्रीलंकाले ३, भारतले २ तथा बंगलादेशले एक स्वर्णपदक जित्यो ।
आइतबार औपचारिकरुपमा उद्घाटन भएको १३औं सागको तेक्वान्दोका खेलहरु सोमबारदेखि सुरु भएका हुन् ।





प्रतिक्रिया दिनुहोस्