काठमाडौं, मंसिर १६ । १३औं दक्षिण एसियाली खेलकुद (साग)को करातेमा नेपालले पहिलो दिन ७ ओटा स्वर्णपदक जितेको छ ।
पहिलो दिन ९ स्वर्णपदकका लागि भएको भिडन्तमा नेपालले ७ स्वर्ण र दुई रजतपदक जितेको हो ।
सोमबार मण्डेकाजी श्रेष्ठले दुईओटा स्वर्णपदक जित्न सफल भएका छन् । मण्डेले एकल र टिममा गरी दुई स्वर्णपदक जितेका हुन् ।
अनु अधिकारी, कुसुम खड्का, विप्लवलाल श्रेष्ठ, लक्ष्मण तामाङ, महिला र पुरुषको टिम इभेन्टमा नेपालले स्वर्णपदक जितेको हो ।
अनुले कुमुतेको ५० केजीमुनि समूहमा श्रीलंकाकी खेलाडीलाई फाइनलमा ८–० ले हराउँदै स्वर्णपदक जितेकी हुन् ।
कुसुमले कुमुतेको ४५ केजीमुनि तौल समूहमा बंगलादेशकी खेलाडीलाई पराजित गर्दै स्वर्णपदक जितेकी हुन् ।
विप्लवले ८४ केजी तौल समूहमा स्वर्ण जितेका हुन् ।
कुमुतेको ५५ केजीमुनि तौल समूहमा लक्ष्मण तामाङले स्वर्णपदक जिते । स्वर्ण भिडन्तमा लक्ष्मणले बंगलादेशका खेलाडी मोहम्मद मुस्तफालाई १–० ले हराए ।
व्यक्तिगत पुरुष एकल कातामा मण्डेकाजी श्रेष्ठले स्वर्णपदक जितेका छन् । मण्डेले स्वर्ण भिडन्तमा पाकिस्तानका निएमातुल्हालाई पराजित गरेका हुन् ।
त्यस्तै, महिला टिम कातामा नेपालले स्वर्ण जित्नेक्रममा पाकिस्तानलाई हरायो । निर्मला तामाङ, संगीता मगर र सरू कार्कीको टिमले स्वर्ण जितेको हो ।
त्यस्तै, पुरुष टिम कातामा पनि नेपालले स्वर्णपदक जितेको छ । मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ र प्रविण मानन्धरको टिमले श्रीलंकालाई पछाडि पार्दै स्वर्ण जितेको हो ।
यस्तै, चञ्चला दनुवारले एकल कातातर्फ र सिनियर पुरुषको एकल कुमुतेमा दिवस श्रेष्ठले रजतपदक जिते ।
आइतबार औपचारिकरुपमा उद्घाटन भएको १३औं सागको करातेका खेलहरु सोमबारदेखि सुरु भएका हुन् ।





प्रतिक्रिया दिनुहोस्