
बिराज रोस्यारा (इमेज)
कैलाली, मंसिर १६ । धनगढीमा प्रथम सुदूरपश्चिम स्पोर्ट्स अवार्ड हुने भएको छ ।
खेलकुद पत्रकार मञ्च कैलालीले सुदूरपश्चिम स्पोर्ट्स अवार्ड गर्न लागेको हो ।
मञ्चले सोमबार धनगढीमा पत्रकार सम्मेलन गरी आउँदो पुस १५ गते स्पोर्ट्स अवार्ड गर्ने घोषणा गरेको हो ।
विभिन्न ६ विधामा अवार्ड प्रदान गरिने जनाइएको छ ।
सुदूरपश्चिम प्रदेशका वर्ष पुरुष/महिला खेलाडी, वर्ष युवा खेलाडी, वर्ष प्रशिक्षक, ‘स्पेसल’ अवार्ड र ‘लाइफटाइम अचिभमेन्ट’ अवार्ड प्रदान गरिने खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष सीताराम ओझाले बताए ।
चारओटा विधामा तीन/तीनजनाको मनोनयन सार्वजनिक गरिनेछ । स्पेसल अवार्ड र लाइफटाइम अचिभमेन्ट अवार्डबाहेक अरु विधाको मनोनयन सार्वजनिक गरिने आयोजकले जनाएको छ ।
चारओटा विधाका विजेतालाई जनही नगद २५ हजार रुपैयाँसहित ट्रफी र मेडल प्रदान गरिनेछ ।
स्पेसल अवार्ड र लाइफटाइम अचिभमेन्ट अवार्ड पाउनेलाई जनही नगद १० हजारसहित ट्रफी र मेडल प्रदान गरिनेछ ।
वर्ष पुरुष खेलाडी र वर्ष महिला खेलाडीलाई मोटरसाइकल प्रदान गर्ने योजनासमेत रहेको मञ्चले जनाएको छ ।
विभागीय टोलीबाट खेल्ने यस क्षेत्रका खेलाडीहरुलाई भने अवार्डमा समावेश गरिने छैन ।
सुदूरपश्चिमको खेलकुदको विकास, विस्तार र सम्भावनाको खोजीसँगै खेलाडी, प्रशिक्षक तथा खेलप्रेमीहरुको काममा उत्साह थप्नका लागि अवार्ड आयोजना गर्न लागिएको अध्यक्ष ओझाले बताए ।
देशका विभिन्न स्थानमा खेलाडीहरुको प्रदर्शनका आधारमा स्पोर्ट्स अवार्ड आयोजना भइरहेको अवस्थामा सुदूरपश्चिम प्रदेशमा भने पहिलोपल्ट अवार्ड आयोजना गर्न लागिएको हो ।
प्रतिक्रिया दिनुहोस्