३० बैशाख २०८२, मंगलबार | Wed May 14 2025


उपनिर्वाचनमा १० प्रतिशत मत ल्याउन नसक्ने उम्मेदवारको जमानत जफत


0
Shares

रमेश गिरी (रासस)

भक्तपुर, मंसिर १६ । भक्तपुर क्षेत्र नं १ (क) मा सम्पन्न प्रदेशसभा सदस्य पदको उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवारले १० भोेट पनि नघाउन सकेनन् ।

नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बीच मुख्य प्रतिस्पर्धा देखिए पनि साना दललाई पाँच सय र स्वतन्त्र उम्मेदवारलाई १० भोट ल्याउन मुश्किल पर्‍यो ।

कांग्रेसका उम्मेदवार कृष्णलाल भँडेलले १३ हजार चार सय ४९ मत पाएर विजयी भइरहँदा नेकपाका उम्मेदवार डिपी ढकालले ११ हजार दुई सय छ मै चित्त बुझाउनुपर्‍यो ।

नेपाल मजदूर किसान पार्टीका उम्मेदवार नीरज लवजूलाई २०७४ सालको प्रदेशसभा सदस्यमा आफैले पाएको मत जोगाउन गाह्रो भयो । उनी गत निर्वाचनभन्दा दुई हजार मत कम अर्थात पाँच हजार आठ सय २९ मत मै खुम्चिनुपर्‍यो ।

आफ्ना लालकिल्ला भत्किँदै गएको पत्तो नपाएको नेमकिपालाई आफ्नो मत सुरक्षित गर्न समस्या पर्‍यो भने कमल थापा नेतृत्वको राप्रपाले यसपटक निकै कम मतमा चित्त बुझाउनुपर्‍यो ।

उपनिर्वाचनमा कूल ३२ हजार ३७ मत खस्दा राप्रपाका उम्मेदवार श्यामप्रसाद नेपालको भागमा भने जम्मा पाँच सय ७४ मत मात्रै पर्‍यो । त्यस्तै साझा पार्टीले पाँच सय मत पनि नघाउन सकेन ।

साझा पार्टीका उम्मेदवार सुरज प्रधानले तीन सय ९३ मत पाए भने अन्य दलले एक सय मत पनि पुर्‍याउन सकेनन्, स्वतन्त्रले १० पनि कटाउन सकेनन् ।

नेकपा (माले) का उम्मेदवार सुदर्शन लामिछानेले ३७, समाजवादी पार्टीका सुदर्शनकुमार मुनुकर्मीले ३२, सङ्घीय लोकतान्त्रिक राष्ट्रियमञ्चका उम्मेदवार मिङ्मार लामाले पाँच र नेपाली कांग्रेस (बिपी) का मधुसुदन न्यौपानेले मात्रै दुई मत मात्रै प्राप्त गरे ।

स्वतन्त्रतर्फ सबभन्दा बढी २८ मत जीवनचन्द्र अधिकारीले पाए भने उत्तम शाखकर्मीले सात, जीवन नेपालीले सात, राकेश सुवालले पाँच, सुमना कार्की पाँच मत, अर्जुन कोजू चार, कृष्णप्रसाद ह्योगोले चार, कृष्णराम पोतामाहा दुई, सङ्गीता पौडेल आचार्य दुई र सुजाता देउजाले एक मत प्राप्त गरीन् ।

उपनिर्वाचनमा नेकपा, कांग्रेस र नेमकिपा बाहेक अन्य दल र स्वतन्त्र उम्मेदवारको जमानत जफत भएको छ । प्रदेशसभा सदस्य पदमा १९ जनाले उम्मेदवारी दिएकामा १६ उम्मेदवारको जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

जमानत जफल हुनेमा राष्ट्रिय प्रजातन्त्र पार्टी, साझा पार्टी, नेकपा (माले), समाजवादी पार्टी, सङ्घीय लोकतान्त्रिक मञ्च र नेपाली कांग्रेस (बीपी) को जमानत जफत भएको छ भने सबै स्वतन्त्र उम्मेदवारको जमानत जफत भएको छ ।

निर्वाचन भएको क्षेत्रमा सदर भएको कूल मतको १० प्रतिशत मत पनि ल्याउन नसक्ने उम्मेदवारको जमानत जफत हुने व्यवस्था छ । रासस