
काठमाडौं, साउन १४ । यस वर्षको राष्ट्रिय फुटबल लिग ‘होम एण्ड अवे’का आधारमा सञ्चालन गर्ने तयारी भएको छ ।
कोभिड–१९ का कारण गत वर्ष प्रभावित बनेको राष्ट्रिय लिग ‘होम एण्ड अवे’ का आधारमा सञ्चालनको तयारी गरिएको हो ।
राष्ट्रिय लिग कमिटीले सहभागी क्लबसँग छलफल गरेर यसबारे टुङ्गो लगाउने जनाएको छ । एन्फाले राष्ट्रिय लिगको मिति र अन्य मोडालिटी तय गर्न सहभागी १० क्लबलाई भोली छलफलमा बोलाएको छ ।
भोलिको छलफलले राष्ट्रिय लिगका सन्दर्भमा देखिएको अन्यौलता हटाउने अपेक्षा गरिएको छ । एन्फा तालिका अनुसार राष्ट्रिय लिग भदौमा सुरु गर्नुपर्ने उल्लेख छ । तर एन्फाले सहिद स्मारक ए डिभिजन लिगको मिति तोक्दै राष्ट्रिय लिगलाई संगसंगै लैजाने माडालिटी तय गरेको छ । तर ए डिभिजन र राष्ट्रिय लिग संगसंगै लैजाने विषयमा क्लबहरुको बिमती छ ।
यसमा एन्फाकै पदाधिकारीले समेत असन्तुष्टी जनाएका छन् । एन्फा तालिका अनुसार पहिला राष्ट्रिय लिग गर्नुपर्ने थियो तर राष्ट्रिय लिग नभएर ए डिभिजन लिगको मिति घोषणा भैसकेको छ । मिति घोषणा भएपछि सबै खेलाडीलाई सहिद स्मारक खेल्ने क्लबले अनुबन्ध गरेका छन् ।
त्यसैलै दुवै लिग संगै लैजान सम्भव नभएको एन्फा पदाधिकारी नै बताउँछन् । एन्फाले असोज ३ गतेबाट सहिद स्मारक ए डिभिजन लिग सुरु गर्दैछ । राष्ट्रिय लिगका लागि कात्तिक ३० गतेको प्रस्तावित मिति एन्फाले छलफलमा राखेको छ ।
भोलिको बैठकले सहिद स्मारकको पहिलो चरण सकिएपछि वा पुरै लिग सकिएपछि राष्ट्रिय लिग आयोजना गर्ने सन्दर्भमा निर्णय गर्नेछ ।





प्रतिक्रिया दिनुहोस्