
प्रज्ञा तिमल्सिना/लक्ष्मणमान डंगोल (इमेज)
काठमाडौं, साउन १४ । पछिल्लो समय इतिहास विषयप्रति विद्यार्थीको अभिरुचि घट्दै गएको छ ।
कुनै समय ठूलो संख्यामा इतिहास विषय पढ्न त्रिभुवन विश्वविद्यालय कीर्तिपुर जाने विद्यार्थीको संख्या अहिले ह्वात्तै घटेको छ ।
त्रिभुवन विश्वविद्यालयअन्तर्गतको इतिहास केन्द्रीय विभागमा दुई वर्षदेखि विद्यार्थी नै भर्ना भएका छैनन् ।
केन्द्रीय विभागमा विद्यार्थी नआउँदा १० जना प्राध्यापकहरु तलब खाएर बस्नबाहेक केही गर्न सकेका छैनन् ।
यस विभागमा अहिले दुईजना पीएचडी गर्ने विद्यार्थी, १० जना प्राध्यापक र दुईजना कार्यालय सहयोगीमात्र रहेको केन्द्रीय विभाग प्रमुख प्रा. डा. शंकर थापाले बताए ।
वि.सं. २०१६ सालदेखि नै त्रिवि केन्द्रीय विभागमा इतिहास विषयको पठनपाठन हुन थालेको हो ।
इतिहासलाई जीवन्त बनाइराख्ने इतिहासजस्तो विषयमा दुई वषदेखि पढाइ नहुँदासमेत त्रिविले कुनै चासो देखाएको छैन ।
प्राध्यापक र कर्मचारीहरुको तलब–भत्तामा वार्षिक एक करोड ४० लाख रुपैयाँ खर्च हुन्छ । तर, उपलब्धि भने शून्य छ ।
इतिहास विषयप्रति विद्यार्थीको घट्दो रुचिप्रति त्रिविले कुनै चासो नदेखाएको गुनासो प्राध्यापकहरु गर्छन् ।
तलबबाहेक अन्य रकम नदिँदा आफूहरुले पनि केही गर्न नसकेको उनीहरुको भनाइ छ ।
तर, विद्यार्थी आएनन् भनेर केन्द्रीय विभाग नै बन्द गर्ने पक्षमा भने आफूहरु नरहेको प्राध्यापकहरुले बताए ।
अहिले विद्यार्थीको रुचि घटेपनि पछि इतिहासप्रति चासो देखाउँदै विद्यार्थी आए भने त्रिविमा यो विषय छैन भनेर आफूहरु पन्छिन नमिल्ने केन्द्रीय विभाग प्रमुख डा. थापा बताउँछन् ।
केन्द्रीय विभागमा पठनपाठनसँगै अनुसन्धान पनि गर्नुपर्ने हुन्छ । प्राध्यापकहरुले आफ्नै खर्चमा अनुसन्धानको काम अघि बढाउँदा पनि त्यसलाई थप व्यवस्थित गर्न त्रिविले कुनै चासो नदेखाएको प्राध्यापकहरुको गुनासो छ ।
त्रिविको वातावरण देख्दा भने जो–कोहीलाई अचम्म लाग्नसक्छ । जताततै घाँसैघाँस र वस्तुभाउ देख्दा विश्वविद्यालय हो र ? भन्ने अवस्था देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्