८ आश्विन २०८०, सोमबार | Mon Sep 25 2023


दीपकराज जोशीलाई प्रधानन्यायाधीश चयन गर्ने विषय आज पनि टुंगिएन


0
Shares

काठमाडौं, साउन १४ । सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दीपकराज जोशीलाई प्रधानन्यायाधीश बनाउने कि नबनाउने भन्ने विषय सोमबार पनि टुंगो लाग्न सकेन ।

संसदीय सुनुवाइ विशेष समिति सोमबार निर्णयमा पुग्ने भनिएपनि कुनै निर्णय नगरी समितिको बैठक बुधबारसम्मका लागि स्थगित गरिएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई पनि साथ लिएर निर्णय गर्ने भन्दै बैठक स्थगित गरिएको हो ।

समितिले जोशीकाबारेमा पाँच दिनअघि नै सुनुवाइ गरिसकेको छ । तर, प्रस्तावित प्रधानन्यायाधीश जोशीको शैक्षिक योग्यताको प्रमाणपत्रमा विवाद भएपछि समितिले निर्णय गर्न ढिलाइ गरेको हो ।

समितिका सदस्यहरुले जोशीविरुद्ध परेका उजुरीकाबारेमा छानबिन भइरहेको र उचित निर्णय हुने बताएका छन् ।

जोशीले दुईओटा विद्यालयबाट एसएलसी दिएपनि सिम्बोल नम्बर एउटै भएको, ठूला करसम्बन्धी आदेश, सार्वजनिक जग्गासम्बन्धी फैसलालगायत विषयमा सुनुवाइ समितिमा चित्तबुझ्दो जवाफ नदिएको र धेरै प्रश्नलाई बेवास्ता गरेको आरोप लागेको छ ।

बिहीबार जोशीको सुनुवाइ भएपनि संसदीय सुनुवाइ समितिको बैठक पटक–पटक सर्दा कुनै निर्णय हुन सकेको छैन ।

शुक्रबार बस्दै नबसी आइतबारसम्मका लागि स्थगित भएको समितिको बैठक आइतबार केहीबेरमात्र बसेर फेरि आज दिउँसोसम्मका लागि स्थगित गरिएको थियो ।