काठमाडौं, मंसिर १४ । काठमाडौंमा जारी १३औं दक्षिण एसियाली खेलकुद (साग)को पुरुष भलिबलको सेमिफाइनल समीकरण पूरा भएको छ ।
शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा सम्पन्न समूह चरणको अन्तिम खेलमा पाकिस्तानले श्रीलंकालाई पराजित गरेसँगै सेमिफाइनल समीकरण पूरा भएको हो ।
पाकिस्तान २८–३०, २५–१८, २५–२० र २५–२१ विजयी भयो ।
जितसँगै पाकिस्तान समूह ‘बी’बाट ४ अंक जोड्दै समूह विजेता तथा श्रीलंका २ अंकसहित उपविजेता बन्दै अन्तिम चारमा पुग्यो ।
दुवै खेल गुमाएको माल्दिभ्स प्रतियोगिताबाट बाहिरियो ।
सेमिफाइनलमा पाकिस्तानले समूह ‘ए’को उपविजेता बंगलादेशसित खेल्नेछ । यस्तै, श्रीलंकाले समूह ‘ए’को विजेता भारतसित खेल्नेछ । समूह ‘ए’बाट नेपाल बाहिरिइसकेको छ ।
दुवै सेमिफाइनलका खेलहरु आइतबार हुनेछन् ।





प्रतिक्रिया दिनुहोस्