इजरायलमा नेपाली श्रमिक पठाउन आवेदन खुला, २१ दिनभित्र आवेदन दिन सकिने « Image Khabar


इजरायलमा नेपाली श्रमिक पठाउन आवेदन खुला, २१ दिनभित्र आवेदन दिन सकिने


Border circle
Imagekhabar

काठमाडौं । नेपालसँग सम्झौता भएको लामो समयपछि इजरायलले नेपाली श्रमिक लैजान एक हजार जना श्रमिकको माग गरेको छ । वैदेशिक रोजगार विभागका अनुसार इजरायलले केयरगिभर कामका लागि हजार नेपाली श्रमिक लैजान खोजेको हो ।

इजरायलले मागेको श्रमिकका लागि सरकारले आज विज्ञापन खुलाएर कामदारको माग गरेको हो । सरकारले गत वर्ष इजरायल र नेपालबीच श्रम सम्झौता गर्दै पहिलो चरणमा ५ सय जना कामदार पठाउने समझदारी गरेको थियो । एक हजार कामदार माग भएसँगै कसरी पठाउने भनेर सरकारी अधिकारीहरूले तयारी थालेका छन् ।

वैदेशिक रोजगार विभागका इजरायलमा केयरगिभरका लागि जाने कामदारका लागि २१ दिनको म्याद राखेर आवेदन खुलाइएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘इजरायल नेपाली कामदार पठाउनेसम्बन्धी निर्देशिका २०७८ जारी गरिसकेको छ ।

नेपाली युवाहरूको आकर्षक गन्तव्य बन्दै गएको इजरायलमा रोजगारीमा पठाउन सरकारले पछिल्लोपटक गत असोज १४ गते सम्झौतापत्रमा हस्ताक्षर गरेको छ जसअनुसार अब सरकार टु सरकार (जीटुजी) मार्फत कामदार इजरायल पठाउनेछ । सम्झौताअनुसार इजरायलले केयर गिभर, कृषि, होटल र रेस्टुराँ, निर्माणलगायत क्षेत्रमा नेपालीलाई रोजगारीको अवसर दिने छ ।

तर, पहिलो चरणमा केयर गिभर मात्रै लैजाने तयारी भएको छ । इजरायल जान इच्छुक कामदारको विभिन्न योग्यता तोकिएको छ । सरकारले जारी गरेको यससम्बन्धी निर्देशिकाअनुसार २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको नेपाली नागरिक, कम्तीमा १.५ मीटर उचाइ तथा ४५ केजी तौल भएको हुनुपर्नछ ।

त्यसैगरी कम्तीमा १० कक्षा उत्तीर्ण गरी अनमी वा सीएमएसम्बन्धी विषयमा कम्तीमा १५ महीनाको अध्ययन पूरा गरेको वा कक्षा १२ वा त्यस सरहको शैक्षिक योग्यता प्राप्त गरी नेपाल सरकारबाट मान्यताप्राप्त तालिम प्रदायक संस्थाबाट केयर गिभिङसम्बन्धी कम्तीमा ३ महिनाको तालिम प्राप्त गरेको हुनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्