कृष्ण दवाडी (रासस)
कास्की, मंसिर १४ । यही मंसिर १५ गतेदेखि सुरु हुने १३औं दक्षिण एसियाली खेलकुद (साग)को धनुकाँण (आर्चरी)मा कम्तीमा तीन स्वर्णपदकको लक्ष्यसहित नेपाली खेलाडी तथा प्रशिक्षकले मिहिनेत गरिरहेका छन् ।
श्रीलंकामा सम्पन्न दशौं संस्करणदेखि नेपालले आर्चरीमा सहभागिता जनाउन सुरु गरेको थियो ।
पहिलो सहभागितामै मात्र सीमित रहेकामा बंगलादेशमा भएको ११औं संस्करणमा ‘टिम रिकर्भ’ विधामा कास्य तथा अघिल्लोपटक भारतमा भएको १२औं संस्करणमा व्यक्तिगत विधामा कास्यपदक जितेको नेपाल घरेलु मैदानमा हुने प्रतियोगितामा भने कम्तीमा पनि तीन स्वर्ण हात पार्ने लक्ष्यमा छ ।
पोखरा रंगशालाभित्रको आर्चरी मैदानमा ७० मिटर ‘कम्पाउन्ड’ र ५० मिटर ‘रिकर्भ’ गरी दुई इभेन्टमा महिला तथा पुरुषतर्फ १० स्वर्ण, १० रजत र १० कास्यपदकका लागि प्रतिस्पर्धा हुँदैछ ।
रिकर्भ व्यक्तिगत, कम्पाउन्ड पुरुष तथा महिला टोलीमा स्वर्णपदकको आश प्रशिक्षकले गरेका छन् ।
आर्चरीमा अरू देशभन्दा माथिल्लोस्तरमा रहेको भारत आन्तरिक विवादले खेलमा सहभागी नहुने भएपछि अन्य राष्ट्रलाई केही सहज भएको छ भने स्वर्ण प्रतिस्पर्धासमेत तीव्र हुने देखिएको छ ।
समूहमा बंगलादेश केही माथि रहे पनि नेपाल, श्रीलंका, पाकिस्तान र भुटानको अवस्था समान छ । माल्दिभ्सले भने खेलमा सहभागिता जनाएको छैन ।
गत भदौ २८ देखि ३० गतेसम्म पोखरा रंगशालाको आर्चरी मैदानमा सन्चालन भएको छनोट प्रतिस्पर्धाबाट ८/८ जना पुरुष तथा महिला खेलाडी छनोट गरी उनीहरुले नियमित प्रशिक्षण गरिरहेका छन् ।
सागका लागि नेपाली टोलीले गत जेठदेखि नियमित अभ्यास गरिरहेकाले पनि यसपटक राम्रो गर्नेमा खेलाडी आशावादी छन् ।
खेलाडीले लामो तयारी गरे पनि राज्यले उनीहरुलाई आवश्यक खेल सामग्री अहिलेसम्म उपलब्ध गराउन सकेको छैन ।
खेलाडी आफैंले लगानी गरेर सामग्री जोहो गरेर भएपनि निरन्तर अभ्यास गर्दैै आएका छन् ।
खेल सुरु हुन केही दुई दिन बाँकी रहँदासमेत खेल सामग्री खेलाडीले पाउन सकेका छैनन् ।
अभ्यासका लागि आवश्यक एरो, टार्गेट बोर्ड, दूरबिनलगायतका खेल सामग्री अहिलेसम्म उपलब्ध हुन नसकेका नेपाली टोलीका प्रशिक्षक वसन्त थकालीले बताए ।
खेलाडी पहिलाभन्दा बढी खारिएर आएका र स्कोर पनि राम्रो हुँदै आएकाले पदकको आशालाई बढाएको प्रशिक्षकको भनाइ छ ।
‘खेलाडीले लामो समयदेखि राम्रो तयारी गरेका छन् । घरेलु मैदानमा उनीहरुको मनोबल पनि उच्च छ । तर, अहिलेसम्म खेल सामग्री सरकारले उपलब्ध गराएको छैन । कहिले सामग्री आएर त्यसमा अभ्यस्त भएर पदकको आशा गर्ने ?’ उनले भने ।
मैदानबाहेक अन्य कुनैपनि खेल सामग्री तथा पूर्वाधार तयार नहुँदा खेलाडी चिन्तित भएका छन् ।
सागमा आर्चरीतर्फ रिकर्भ पुरुष व्यक्तिगत, पुरुष टिम इभेन्ट, मिक्स, महिला व्यक्तिगत तथा महिला समूह र कम्पाउन्ड पुरुष व्यक्तिगत, पुरुष टिम इभेन्ट, मिक्स, महिला व्यक्तिगत तथा महिला समूह इभेन्टमा पदकका लागि प्रतिस्पर्धा हुने नेपाल आर्चरी संघका अध्यक्ष दीपक गुरुङले बताए ।
नेपाली टोलीमा रिकर्भ इभेन्टमा पुरुषतर्फ असिम शेरचन (पोखरा), रोशन नगरकोटी (आर्मी), डम्बरबहादुर थापा (आर्मी), तिलक पुन मगर (प्रहरी) तथा महिलामा मित्र राई (आर्मी), ज्ञानु अवाले (आर्मी), विष्णुमाया लिम्बू (पोखरा) र आइसा तामाङ (आर्मी) रहेका छन् ।
त्यसैगरी, कम्पाउन्ड पुरुषतर्फ रमेश भट्टचन (काठमाडौं), सनातन मल्ल (काठमाडौं), योगेन्द्र शेरचन (पोखरा) र मीनप्रसाद गौचन (काठमाडौं) छन् ।
महिलातर्फ पार्सदा आचार्य (काठमाडौं), मोनिका राना (पोखरा), रश्मी दर्लामी मगर (पोखरा) र मञ्जु बजगाईं (आर्मी) रहेका छन् ।
पोखरामा सन्चालन हुने ८ खेलका लागि ४०९ महिला र ३२९ पुरुष खेलाडी सहभागी हुने प्रचार–प्रसार समितिले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्