कञ्चनपुर, मंसिर १४ । मोटरसाइकल ओभरटेक गरेको निहुँमा हत्या गरिएका युवाको घटनामा स्थानीय सरकारले चासो नदिएको भन्दै कञ्चनपुरको माहाकाली नगरपालिकामा विरोध प्रदर्शन गरिएको छ ।
स्थानीय सरकारले चासो नदिएको भन्दै पीडित पक्षले महाकाली नगरपालिकामा विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले घटनाका विषयमा मेयर/उपमेयरले जिल्लामा पहल गर्नुको साटो आफूहरुलाई जानकारी नभएको भन्दै टार्न खोजेको आरोप लगाएका छन् ।
चुनावका बेला अनेक आश्वासन बाड्दै भोट माग्न आउने तर जनालाई दुःख पर्दा सहानुभूति दिनुको साटो उल्टै दूव्र्यवहार गरेको उनीहरुको आरोप छ ।
आफूहरुले घटनाका विषमा सम्बन्धित निकायमा पहल गरिदिन पटक पटक मेयर तथा उपमेयरलाई जानकारी गराएपनि उनीहरु सम्पर्कमा नआएपछि बाध्य भएर प्रदर्शनमा उत्रिनु परेको पीडित पक्षले बताएका छन् ।
बिहीबार बिहान दोधाराबाट महेन्द्रनगर आउने क्रममा भीमदत्त नगरपालिका–१८ गोबरैयामा मोटरसाइकल ओभरटेक गरेको निहुँमा माहाकाली नगरपालिका ३ का २२ वर्षीय दिपक पन्तको चक्कु प्रहार तथा हेलमेटले हानेर हत्या गरिएको थियो ।
मृतकका आफन्तले घटनामा पाँच जना संलग्न रहेको भन्दै दोषिमाथी कडा कारवाही नभएसम्म शव नबुझ्ने अडान लिएका छन् । पन्तको शव अहिले महाकाली अस्पतालमा राखिएको छ ।




प्रतिक्रिया दिनुहोस्