२३ जेष्ठ २०८०, मंगलबार | Tue Jun 6 2023


सरकारलाई दिएको समर्थन फिर्ता लिने योजना छैन : महतो


0
Shares

काठमाडौं, साउन १४ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्षमन्डलका सदस्य राजेन्द्र महतोले सरकारलाई दिएको समर्थन फिर्ता लिने आफूहरुको कुनै योजना नभएको बताएका छन् ।

वर्तमान सरकारले नै संविधान संशोधन गर्नेमा आफूहरु विश्वस्त रहेकाले तत्काल समर्थन फिर्ता नगर्ने उनको भनाइ छ ।

सोमबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा नेता महतोले समर्थन फिर्ता लिनेबारे पार्टीमा अहिलेसम्म कुनै छलफल भएको स्पस्ट पारे ।

वर्तमान सरकार दुईतिहाइको भएकाले संविधान संशोधनका लागि पहल गर्नेमा आफूहरु आशावादी रहेको भन्दै उनले अहिले ‘पर्ख र हेर’को स्थितिमा रहेको उल्लेख गरे ।

नेता महतोले केही समयअघिमात्र संविधान संशोधनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण गराएकाले संशोधनको प्रक्रिया अघि नबढे पार्टीले गम्भीररुपले छिनोफानो गर्ने बताए ।

पार्टी नेतृत्व सहमतिमै टुंगो लगाउने भन्दै नेता महतोले अध्यक्षमन्डल रहने वा नरहने भन्ने विषय महाधिवेशनले टुंग्याउने बताए ।