
काठमाडौं, साउन १० । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग नेकपाका महासचिव नेत्रविक्रम चन्दले भेटघाट गर्नुभएको छ ।
यादवलाई भेट्न चन्द र पार्टी नेता खड्गबहादुर विश्वकर्मा यादव निवासमा पुग्नुभएको थियो । केही दिन लगातार राजनीतिक भेटघाटमा व्यस्त चन्दले आइतबार विहान यादवसँग भेट गर्नुभएको हो ।
यसअघि, चन्दले प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री केपी ओली, पुष्पकमल दाहाल, माधव नेपाल, डा. बाबुराम भट्टराईसँग भेट गरिसक्नुभएको छ ।
यसैगरी, उहाँले राप्रपाका अध्यक्ष कमल थापा, नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य, नेकपा एमालेका नेता रामबहादुर थापा, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायतलाई भेटेर आफ्नो सरोकार राखिरहनुभएको छ ।
अर्ध–भूमिगत भन्दै हिंसात्मक गतिविधिमा लागेका चन्द र उहाँको पार्टीलाई अघिल्लो सरकारले प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । सरकारले आफ्ना नेता–कार्यकर्तामाथि धरपकड बढाउन थालेपछि चन्दले शान्तिपूर्ण राजनीतिमा आउने सहमति गर्दै सरकारसँग सहमति गर्नुभएको थियो ।
बदलामा सरकारले पक्राउ गरेका चन्दका कार्यकर्तालाई रिहाई गर्ने सहमति गरेपनि पूर्ण रुपमा कार्यान्वयन नगरिएको भन्दै उक्त सहमति पालनाका लागि दबाब दिन पछिल्लो भेटमा चन्दले नेताहरुसँग आग्रह गरिरहनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्