१८ चैत्र २०७९, शनिबार | Sat Apr 1 2023


क्यापासिटर बैंक नराख्ने उद्योगको विद्युत् काट्ने तयारी


0
Shares

काठमाडौं, जेठ ३१ । नेपाल विद्युत् प्राधिकरणले क्यापासिटर बैंक नराख्ने उद्योगको विद्युत् काट्ने तयारी गरेको छ ।

५ हर्स पावरभन्दा बढी क्षमताको विद्युत् मोटर वा वेल्डिङ मेसिन भएका ग्राहकले अनिवार्यरुपमा क्यापासिटर बैक राख्नुपर्ने व्यवस्था छ ।

तर, विनियमालीविपरीत अधिकांश उद्योगले क्यापासिटर बैंक नराखेर समस्या आएसँगै प्राधिकरणले यसलाई कडाइका साथ लागू गर्ने तयारी गरेको हो ।

उद्योगले क्यापासिटर बैंक नराखीदिँदा तराईका जिल्लामा विद्युत् आपूर्तिमा भोल्टेजको समस्या देखिएको प्राधिकरणको भनाइ छ ।

प्राधिकरण प्रणालीबाट आपूर्ति हुने विद्युत्मा भोल्टेजको गुणस्तर कायम गर्न र उद्योगको विद्युत् लोडको मागलाई सन्तुलन राखी नियमित विद्युत् प्रवाहका लागि क्यापासिटर बैक राखिन्छ ।

विद्युत् प्राधिकरणले आफ्ना सबस्टेसनहरुमा क्यापासिटर बैंकहरु राखी प्रणालीमा भोल्टेज सुधार गरेको हुन्छ ।

तर, कतिपय उद्योगहरुले क्यापासिटर नराक्दा भोल्टेजको कारणले लाइन ट्रिप भइ विद्युत् आपूर्तिमा समस्या हुने गरेको र प्राविधिक चुहावट पनि बढिरहेको जनाइएको छ ।

प्राधिकरणको प्राविधिक टोलीले पूर्वका १४० उद्योगको स्थलगत निरीक्षण गर्दा ४३ ओटा उद्योगलेमात्रै क्यापासिटर राखेको फेलापारेको थियो ।

क्यापासिटर राखेका अधिकांश उद्योगले पनि आवश्यकता र तोकिएको मापदन्डअनुसारको नराखेको पत्ता लागेको जनाइएको छ ।

प्राधिकरणले मुलुकभरका वितरण केन्द्रलाई क्यापासिटर बैक नराख्ने उद्योगको विवरण संकलन गरी पठाउन परिपत्र गरिसकेको जनाएको छ ।

धेरै उद्योगले क्यापासिटर बैक नराखेको फेलापरेपछि निश्चित समय दिएर उनीहरुलाई अनिवार्यरुपमा राख्न लगाउन लागिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।