काठमाडौं, मंसिर १२ । ‘एपेन्डिसाइटिस’को शल्यक्रिया गराएर चिकित्सकको निगरानीमा अस्पतालमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार भइरहेको छ ।
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बिहीबार सन्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले भने–‘प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेखनीय सुधार भइरहेको छ । उहाँको स्वास्थ्य स्थितिबारे चासो, चिन्ता र शुभेच्छा प्रकट गर्ने सबैलाई म हार्दिक धन्यवाद दिन चाहन्छु ।’
सरकारका प्रवक्ता बाँस्कोटाले प्रधानमन्त्री ओलीको स्वास्थ्यमा क्रमिकरुपमा उल्लेख्य सुधार भइरहेको महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरले जनाएको प्रस्ट्याए ।
प्रधानमन्त्री ओलीको यही मंसिर १० गते एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो ।
उनले नेपाल–भारतबीचको सीमासम्बन्धी उठेका विषयलाई कूटनीतिक र राजनीतिक माध्यमबाट हल गरिने जानकारी दिए ।
उनले भने–‘कालापानी, लिपुलेक हाम्रो भू–भाग हो । हामीलाई अरुको एक इन्च पनि जमिन चाहिँदैन, हाम्रो पनि छाड्दैनौं । सीमाका विषयलाई लिएर चर्का कुरा नगरौं ।’
‘पुराना लिखत, सन्धि–सम्झौता, स्थानीय जनताले तिरेका निस्सा, जनगणनाजस्ता दस्तावेजसहित सुगौलीसन्धिको धारा ५ जस्ता प्रमाण छन् । तिनै तथ्यका आधारमा सत्य प्रमाणित हुने र सत्यपछि सार्वभौमिकता पुष्टि हुनेछ’–मन्त्री बाँस्कोटाले भने–‘सबै राजनीतिक दलले सीमाका विषयमा सरकारलाई भरथेग, ऐक्यबद्धता जनाउनुभएको छ, यही हाम्रो शक्ति र सामर्थ्य पनि हो ।’
प्रवक्ता बाँस्कोटाले नेपाल–भारत सीमा निरीक्षण समिति र नेपाल–चीन सीमा निरीक्षण समिति गठन भएको उल्लेख गर्दै तीन महिनाको अवधिमा समितिले प्रतिवेदन ल्याउने जानकारी दिए ।
मन्त्री बाँस्कोटाले नेपाल सरकारले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र त्यहाँका प्रधानमन्त्रीलाई नेपाल भ्रमण गर्न निमन्त्रणापत्र हस्तान्तरण गरिएको जानकारी दिए ।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले यसै साता रुस भ्रमणका क्रममा त्यहाँका राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्तो दिएको उनले बताए । रासस









प्रतिक्रिया दिनुहोस्