– प्रकाश नेपाल/इमेज
इलाम । दरबन्दीअनुसार कर्मचारी नहुँदा इलामको माई नगरपालिकाको दैनिक कामकारवाही अस्तव्यस्त बनेको छ । कर्मचारी नहुँदा कार्यालय सहयोगीका भरमा वडा कार्यालय चलाइएको छ ।
स्थानीय तहको निर्वाचन भएको साढे २ वर्ष बितिसक्दा पनि इलामको कान्छो नगरपालिकाका रुपमा रहेको माई नगरपालिकाको दैनिक कामकाज नराम्ररी प्रभावित बनेको छ ।
५० जना स्थायी कर्मचारीको दरवन्दी भएको नगरपालिकामा हाल ३ जना मात्र रहेकाले नगरपालिकाको दैनिक काम अस्तव्यस्त बनेको हो ।
वडा कार्यालयहरु पनि कार्यालय सहयोगीका भरमा चलेकाले सेवाग्राहीलाई समस्या भइरहेको छ । एकजना वडा सचिवले पाँच वटा वडाको काम गर्नुपर्ने बाध्यता रहेको कर्मचारीको गुनासो छ ।
कर्मचारी अभावले दैनिक वडादेखि नगरसम्मका काम प्रभावित भएको छ । भएका केहि कर्मचारी समेत समायोजन भएर अन्यत्र गएकाले नगरपालिका कार्यालय रित्तिएको हो ।
प्रमुख प्रशासकीय अधिकृत छिटो छिटो सरुवा भइरहने कारणलेसमेत कार्यालयको सेवाप्रवाह नराम्ररी बिथोलिएको छ ।
कर्मचारी व्यवस्थापन नहुँदा सेवाप्रवाहसँगै नगरपालिकाको आन्तरिक आयमा समेत नोक्सानी भइरहेको नगरप्रमुख दीपक कुमार थेबे बताउँछन् ।
नगरपालिकामा प्राविधिक र दक्ष कर्मचारी आउन मानेका छैनन् । कर्मचारी व्यवस्थापनका लागि लोकसेवा र सरोकारवाला मन्त्रालयसँग ताकेता गरेको भएपनि हालसम्म पदपुर्ति हुन सकेको छैन ।




प्रतिक्रिया दिनुहोस्