Logo २१ माघ २०८२, बुधबार | Wed Feb 4 2026


‘साग’ महिला भलिबलमा नेपालको विजयी सुरुआत


0
Shares

काठमाडौं, मंसिर ११ । १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत् महिला भलिबलमा नेपालले विजयी सुरुआत गरेको छ ।

बुधबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको उद्घाटन खेलमा बंगलादेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै नेपालले शानदार सुरुआत गरेको हो ।

तुलनात्मकरुपमा कमजोर टोली बंगलादेशविरुद्ध नेपालले पहिलो र दोस्रो सेट समान २५–९ ले सहजै जितेको थियो । तेस्रो तथा अन्तिम सेट २५–११ ले जित्दै नेपालले आफूलाई सेमिफाइनलनजिक पुर्‍याएको हो ।

हालै बंगलादेशमा भएको एभीसी सेन्ट्रल जोन भलिबलको उपाधि जितेको नेपालले सो खेलमा पनि बंगलादेशलाई हराएको थियो ।

‘वाकओभर’

समूह ‘बी’को खेलमा पाकिस्तान नआएपछि माल्दिभ्सले ‘वाकओभर’ पाएको छ । माल्दिभ्सले २ अंक जोडेको छ ।

सागको भलिबलमा पुरुष र महिलातर्फ समान ६ टोली रहेका छन् । समूह चरणमा महिला र पुरुष दुवैमा एकै राष्ट्रहरु रहेका छन् ।

समूह ‘ए’मा नेपाल, बंगलादेश र भारत तथा समूह ‘बी’मा श्रीलंका, पाकिस्तान र माल्दिभ्स रहेका छन् ।

१३औं सागको औपचारिक उद्घाटन यही मंसिर १५ गते आइतबार हुने भएपनि भलिबलका खेलहरु अगाडि नै सुरु भएका हुन् ।