
काठमाडौं । संसदीय सुनुवाइ विशेष समितिले प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीका बारेमा आज निर्णय गर्ने भएको छ ।
समितिको कार्यालय सिंहदरबारमा अपराह्न २ बजेका लागि बोलाइएको बैठकले जोशीको नाम स्वीकृत गर्ने या अस्वीकृत गर्नेबारे निर्णय गर्ने भएको हो ।
समितिले जोशीका बारेमा पाँच दिनअघि नै सुनुवाइ गरिसकेको छ । तर प्रस्तावित प्रधानन्यायाधीश जोशीका बारेमा शैक्षिक योग्यताको प्रमाणपत्रमा विवाद भएपछि समितिले निर्णय गर्न ढिलाइ गरेको हो ।
समितिका सदस्यहरुले जोशीविरुद्ध परेका उजुरीका बारेमा छानबिन भइरहेको र उचित निर्णय हुने बताएका छन् ।
जोशीले दुईवटा विद्यालयबाट एसएलसी दिए पनि सिम्बोल नम्बर एउटै भएको, ठूला करसम्बन्धी आदेश, सार्वजनिक जग्गासम्बन्धी फैसलालगायत विषयमा सुनुवाइ समितिमा चित्तबुझ्दो जवाफ नदिएको र धेरै प्रश्नलाई बेवास्ता गरेको आरोप लागेको छ ।
बिहीबार जोशीको सुनुवाइ भए पनि संसदीय सुनुवाइ समितिको बैठक पटकपटक सर्दा कुनै निर्णय हुन सकेको छैन ।
शुक्रबार बस्दै नबसी आइतबारसम्मका लागि स्थगित भएको समितिको बैठक हिजो केहीबेर मात्र बसेर फेरि आज दिउँसोसम्मका लागि स्थगित भएको छ ।
आजको बैठकले उनको नाम स्वीकृत गर्ने या अस्वीकृत गर्ने भन्नेबारे निर्णय गर्ने छ ।
प्रतिक्रिया दिनुहोस्