
बासुदेव बर्मा
कपिलबस्तु, साउन १४ । कपिलवस्तुको सदरमुकाम तौलिहवामा रहेको हजारौं वर्ष पुरानो धार्मिक तौलेश्वरनाथ शिव मन्दिरमा जल चढाउने श्रद्धालुहरुको आज घुइँचो लागेको छ ।
साउनको सोमबार भएकाले श्रद्धालुहरु शिवजीलाई जल चढाउन आएका हुन् । भक्तजनहरुले रामघाट नदीबाट जल ल्याई तौलेश्वरनाथ मन्दिरमा चढाउने गर्दछन् ।
साउनको सोमबार वाणगंगाको रामघाट नदीबाट जल ल्याएर तौलेश्वरनाथ मन्दिरमा चढाउँदा मनोकांक्षा पुरा हुने धार्मिक विश्वास रहेको श्रद्धालु भक्तजनको भनाइ छ ।
जल चढाउन जिल्लाको विभिन्न क्षेत्रका अतिरिक्त रुपन्देही, दाङ, अर्घाखाँची जिल्लाका साथै भारतीय सीमा क्षेत्रका सिद्धार्थनगर र बलरामपुर जिल्लाबाट समेत हजारौं दर्शनार्थी आइतबार रातिदेखि नै तौलिहवामा पुगेका थिए ।
भक्तजनले बोलबमको नारासहित नाचगान गर्दै रामघाटदेखि मन्दिरसम्मको पाँच किलोमिटर दुरी पैदल हिँडेर जल ल्याएका हुन् ।
साउन महिनाको प्रत्येक सोमबार रामघाट नदीबाट जल लिई शिवजीलाई जल चढाउँदा मनोकामना पुरा हुने विश्वास छ भने साउन महिनाभर भारतको अयोध्याबाट आएका पुजारीहरुले मन्दिरमा पुजा गराउने हुँदा कलस यात्रा समेत निकालिएको थियो ।
विसं. १८७२ सालमा स्थापित तौलेश्वर महादेवको यो मन्दिर यहाँका हिन्दु धर्मावलम्वीहरुको ठुलो आस्थाको केन्द्र हो भने सम्भवतः नेपालकै शिवमन्दिरहरुमा रहेको शिवलिंगमध्ये सबैभन्दा ठुलो शिवलिंग तौलेश्वरनाथ मन्दिरमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्