
नवीन शर्मा र राजेन्द्र नापित (इमेज)
काठमाडौं, मंसिर १० । देशको अग्रणी शिक्षण संस्थाको रुपमा रहेको दरबार हाइस्कुलको पुनःनिर्माणकार्य विवादका कारण रोकिएको छ ।
स्कुलको पश्चिम मोहडामा रहेको ललितकला क्याम्पससँगको जग्गा विवादका कारण पुनःनिर्माणको कार्य रोकिएको हो ।
जग्गा स्वामित्वको विवाद लम्बिँदै जाँदा काम रोकिएपछि पुनःनिर्माणको जिम्मा पाएको चिनियाँ कम्पनीले स्कुलको भवनमा प्रयोग हुने सामान समयमै नपाएको भन्दै काम बन्द गर्ने चेतावनी दिएको छ ।
दरबार हाइस्कुलको पश्चिम मोहडामा रहेको बाटो ललितकला क्याम्पसले दाबी गर्दै त्यहाँ निर्माण सामग्री थुपारेपछि काम रोकिएको हो ।
भूकम्पले क्षति पुर्याएपछि यतिबेला ललितकला क्याम्पसको पनि पुनःनिर्माणकार्य भइरहेको छ ।
समस्यालाई लिएर दरबार हाइस्कुल र ललितकला क्याम्पसबीच पटक–पटक वार्ता भएपनि आजको मितिसम्म सहमति हुन सकेको छैन ।
ललितकला क्याम्पसले आफ्नो अडान नछाडे्पछि समस्याको निकास खोज्न दरबार हाइस्कुलले पटक–पटक सम्बन्धित निकायलाई आग्रह गर्दै आइरहेको छ ।
यद्यपि, यसबारे कुनै निकास भने अझै ननिस्केको स्कुलका प्रधानाध्यापक हेमचन्द्र महतो बताउँछन् ।
चीन सरकारको सहयोगमा चिनियाँ ठेकेदार र चिनियाँ मजदुरबाटै पुनःनिर्माण भइरहेको दरबार हाइस्कुलको मौलिकता भने जस्ताको तस्तै कायम हुन नसकेको पाइएको छ । आधुनिक प्रविधिअनुसार भवन बनाइँदा पुरानो मौलिकता भने हराएको छ ।
दरबार हाइस्कुलको मौलिकता कायम राख्न पुरातत्व विभाग, महानगरपालिकालगायतका निकायहरुबीच वार्ता भएपनि स्कुलको पूर्ववत् अवस्था भने लगभग हराएको छ ।
झट्ट हेर्दा बाहिरी संरचनामा पुरानो झल्को आएपनि भित्रि संरचना भने पूरै फरक रहेको छ ।
भूकम्पले स्कुल भवन क्षत–विक्षत बनाएपछि विद्यार्थीहरु वाल्मीकि क्याम्पसको खाली जग्गाामा बनाइएको अस्थायी टहरामा अध्ययन गर्दै आइरहेका छन् ।
यस स्कुलमा हाल १६८ छात्रछात्रा अध्ययनरत् छन् । जबकि, कुनै बेला यस विद्यालयमा १८ सयसम्म विद्यार्थी अध्ययन गर्ने गर्दथे ।
बेलैमा पुनःनिर्माण हुन नसक्दा विद्यार्थी संख्यामा पनि मार परिरहेको देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्