Logo १० फाल्गुन २०८२, आइतबार | Sun Feb 22 2026


एकैदिनमा विश्वभर ४ लाख ७८ हजार बढीमा कोरोना संक्रमण, दुवै मात्रा लगाएका बेलायती स्वास्थ्य मन्त्रीमा पनि संक्रमण


0
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वभर चार लाख ७८ हजारभन्दा बढी कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । योसँगै विश्वभर कोरोना संक्रमितको संख्या १९ करोड सात लाख ४८ हजार नाघेको छ ।

गत २४ घण्टामा थपिएका संक्रमितमध्ये सबैभन्दा बढी बेलायतका ५४ हजार ६७४ जना रहेका छन् । त्यहाँ उक्त अवधिमा ४१ जना संक्रमितको मृत्यु भएको छ । यसैगरी दोस्रो धेरै संक्रमित थपिनेमा इन्डोनेसिया रहेको छ ।

त्यहाँ गत २४ घण्टाको अवधिमा ५१ हजार ९५२ जना संक्रमित थपिएका छन्।

साथै, एक हजार ९२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको तथ्यांक छ। सोही अवधिमा भारतमा ४१ हजार २८३ जना संक्रमित थपिएका छन् भने ५१७ जनाको मृत्यु भएको छ ।

यसैबीच बेलायतका स्वास्थ्य मन्त्री साजिद जाविद कोरोना संक्रमित भएका छन् । गएको जुनदेखि स्वास्थ्य मन्त्री बन्नुभएका साजिदमा संक्रमण पुष्टि भएको हो ।

खोपको दुवै मात्रा लगाएका मन्त्री साजिदले शनिबार राति पीसीआर रिपोर्ट पोजेटिभ आएको जानकारी दिएका हुन्। शुक्रबार साजिदले प्रधानमन्त्री बोरिस जोन्सनसँग भेटवार्ता गरेका थिए ।

बेलायतमा पछिल्लो केही दिनयता संक्रमण पुनः बढ्दो क्रममा देखिएको छ । पछिल्लो दुई दिन लगातार ५० हजार नयाँ संक्रमित थपिएका छन् ।