
भरत शर्मा
पाल्पा । पाल्पामा पहिरोले ट्याक्टर र एस्काभेटर पुरिँदा एकको मृत्यु भएको छ ।
तिनाउ गाउँपालिका –६ डुँम्रे स्थित भित्री कच्ची सडकमा डुँम्रेबाट होलीघाटतर्फ ढुङ्गा लोड गरी जाँदै गरेको लु ४ त ६६२९ नम्वरको ट्याक्टर पहिरोले पुरिँदा ट्याक्टर सहयोगी बर्दिया अस्मेरी गाउँपालिका –३ का २७ वर्षीय महेन्द (मुमलाल) पुनको मृत्यु भएको हो ।
पुनको उपचारका क्रममा तानसेस्थित लुम्बिनी मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उहाँ डुँम्रेमा अस्थायी रुपमा बसोबास गर्दै आउनुभएको थियो ।
ट्याक्टर हिलोमा फस्न जाँदा लु १ क २४९६ र लु १ क २४९७ नम्वरको एस्काभेटरले ट्याक्टर निकाल्ने क्रममा अचानक माथिबाट खसेको पहिरोले ट्याक्टर र एस्काभेटर पुरिएको थियो ।
लु १ क २४९६ नम्वरको जेसिबी चालक रैनादेवी छहरा गाउँपालिका–१ का २० वर्षीय सरोज बुढा घाइते हुनुभएको छ ।
घाइते उहाँको लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ । उहाँको अवस्था मध्यम रहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्