
-युवराज गौतम/ईमेज
काठमाडौं । यतिबेला कोरिया नेपाली युवाहरुको रोजाइमा पर्ने देश हो । खाडी मुलुकहरुमा भन्दा सुविधा सम्पन्न र राम्रो आन्दानीका लागि कोरिया जानका लागि भाषा परीक्षा(ईपीएस)मा सहभागी हुने युवाहरुको संख्या बर्षेनी बढ्दो छ ।
यसबर्ष भाषा परीक्षाका लागि आवेदन दिएका ७४ हजार ८ सय ६६ जना सहभागी परीक्षामा ७ हजार ९९६ जना उत्तीर्ण भएका छन । गत जेठ २६ र २७ गते ईपीएस परीक्षा भएको थियो ।
सन् २००७ जुलाई २३ मा नेपाल र कोरियाबीच सरकारी स्तरमा कामदार लैजाने सम्झौता अनुसार हाल कोरियामा ४० हजार भन्दा बढी नेपाली कामदार कार्यरत छन् । यसबर्ष कोरिया सरकारले कामदारको तलब १६ दशमलव चार प्रतिशतले वृद्धि गरेसँगै त्यहाँ नेपाली कामदारको आकर्षण थप बढेको छ । सन् २०१९ लागि भने कोरियाले ७ हजार १ सय नेपाली कामदारको कोटा दिएको छ ।
सुरक्षित गन्तव्य, कामको सुनिश्चितता, कामदार र रोजगारदाताको कार्यसम्झौता, वैधानिकता र अधिकार स्थापित हुने भएकाले नेपालीहरु कोरिया जान हत्ते हाल्ने गरेका छन् । त्यस बाहेक साथै काम गर्ने अवधिको निश्चितता चार वर्ष १० महिना, पुनः कोरिया जान सकिने, तेस्रो पक्ष र दलालको प्रभाव नहुने भएका कारण कोरिया जान इच्छुक नेपालीको संख्या बढ्दै गएको ईपीएस शाखाले जनाएको छ ।
यद्यपी, उत्साहका साथ कोरिया उड्ने तयारीमा रहेका नेपालीहरुले धेरै कुरामा ख्याल गर्नुपर्ने कोरियामै कार्यरत नेपालीहरुले सुझाव दिने गरेका छन् । भाषामा दख्खल, स्वास्थ्य र खानपानमा हेरचाह, कोरियाली कानुनको सामान्य जानकारी बाहेक ‘हार्ड मसल’ भएका शारीरिक रुपमा मजवुद नेपालीहरु मात्र कोरियाका लागि तयारी गर्न उनीहरुको सुझाव छ ।
किनकी कोरिया सरकारले कृषि तथा पशुपालन र माछा मार्न मात्र नेपालीहरुलाई काम लगाउने गरेको छ । नेपालीहरुको शैक्षिक योग्यता र प्राविधिक ज्ञान अनुरुप काम पाउन कठिन छ ।
नवराज शिवाकोटी : मोरङबाट कोरियाको सोलमा उत्रिएको करिब १४ बर्ष विताएको छु । यहाँका नेपालीहरु अत्यन्तै कठिन परिश्रम गरेर आम्दानी गरिरहेका छन् । कोरियाको झिलीमिली देखेर मनग्गे कमाउन आउनु अघि धेरै कुरा विचार गर्नुपर्ने रहेछ ।
यहाँ आइसकेपछि मात्र सबै कुराको अनुभव भयो । किनकी यहाँ जाडोमा अति जाडो गर्मीमा अत्याधिक गर्मी हुने भएकाले काममा खटिन धेरै समस्या पर्छ । मेसिन झैं खटिएर नेपालीले मासिक सरदर १ लाख ६० हजारदेखि तीनलाख रुपैंयाँसम्म कमाउँछन् । खान मंहगो पर्ने भएकाले पैसा बचत गर्न निक्कै हम्मे पर्छ ।
यतिबेला यहाँका अधिकांश कम्पनीहरुले ओभरटाइमको ब्यापक कटौति गरेकाले नेपालीहरुलाई समस्या परिरहेको छ । कोरिया मेहेनत र इमान्दारिताले चलेको देश भएकाले अनावश्यक सपना देख्नु बेकार छ ।
किनकी यहाँ जति खट्न सक्यो उति नै कमाउन सकिन्छ । इपीएस पास गरेर आएका नेपालीहरुलाई सुरुमा खानपान, जीवनशैली र भाषामा घुलमिल हुन समय लाग्छ । कृषिमा भन्दा उद्योगमा राम्रो आम्दानी भए पनि धेरै समय ब्यस्त हुने भएकाले घरपरिवार, आफन्त र साथीभाइसँग रमाउन भने समय निकाल्न मुस्किल पर्छ ।
रमेशकाजी लाप्चा : म विगत नौं बर्षदेखि कोरियाको बुसानमा खाना बनाउने कम्पनी(ओदेँङ)मा कार्यरत छु । इलामबाट पहिलोपटक कोरिया आउँदा मलाई सुरुका केही बर्ष अत्यन्तै कठिनका साथ वित्यो । भाषा र जीवनशैलीमा घुलमिल हुन धेरै मेहेनत गर्नुपर्यो ।
कोरिया भनेको स्वर्ग हो, यहाँ सबै कुरा ठिक छ भन्नु गलत हो । यहाँका कतिपय कम्पनी त कस्ता छन् भने समयमै तलब नदिने, काममा धेरै खटाउने, अपमान र गाली गर्ने गर्छन । यस्ता कुराले धेरै नेपालीहरुलाई निराश बनाउने गरेको छ र विरक्तिने पनि गरेका छन् ।
कमाइका हिसाबले कोरिया नराम्रो होइन । कम्पनीमा काम गरेर १ लाख ५० हजार देखि चार लाख रुपैंयाँसम्म कमाउने नेपालीहरु पनि प्रशस्त छन् । तर हातमा सीप र मेहेनत गर्न चाहीं सक्नुपर्छ ।
काम दक्ष भएकालाई साहूले माया गर्ने र आकर्षक सुविधा पनि दिने गर्छन । कोरियनहरु कामलाई नै भगवान मान्छन् । त्यसैले यहाँ मान्छे भन्दा प्यारो कामलाई नै मानिन्छ । यहाँ अत्याधिक कामको चापले धेरै नेपालीहरुको स्वास्थ्यमा समस्या देखिने र डिप्रेसनसमेत हुने गरेको पाइन्छ ।
अर्जुन अधिकारी : इपीएस परीक्षा पास गरेर नवलपुरको कावासोतीबाट कोरियाको सोल आएको दुई बर्ष वित्यो । मेहेनत अनुसारको कमाइ गर्न सकिदोरहेछ । तर विदेशीलाई हेप्ने र अपमान गर्ने परिपाटीले केही खल्लो पहशुस गराउँछ । यहाँ काम सुरु गरेपछि दैनिकी नै अस्तव्यस्त हुन्छ । दिनभरी काम गरेर थकित भइन्छ । आराम गर्ने समय नै हुँदैन ।
नेपालबाट कोरिया आउनु अघि मानसिक र शारीरिक रुपमा बलियो भएर मात्र आउँदा राम्रो हुने रहेछ । किनकी यहाँ आइसकेपछि अत्यन्तै ब्यस्त मात्र भइदैन शारीरिक र मानसिक रुपमा थकित भइन्छ । घरपरिवार र आफन्तको चिन्ताले सताउने हुँदा बेलामौका त डिप्रेसन नै होला जस्तो हुन्छ ।
थ्रिडीको समस्या
डर्टी, डेन्जसर र डिफिक्ल्टी(थ्रिडी)का कारण कोरिया पुगेका धेरै नेपाली डिप्रेसनको शिकार हुने गरेको अध्ययनले देखाएको छ । आत्महत्या गर्ने र कामको चाप तथा कडा परिश्रमका कारण स्वास्थ्य अवस्था विग्रिएर धेरै नेपालीको मृत्यु समेत हुने गरेको छ । इपीएस कोरिया शाखाको तथ्यांक अनुसार सन् २००७ यता मृत्यु हुने नेपालीको संख्या एकसय ४० नाघिसकेको छ । त्यसमा आत्महत्या गर्नेको दर डरलाग्दो छ ।
म्यानपावर व्यवसायी उदय तामाङका अनुसार औद्योगिक दुर्घटना, सुतेकै ठाउँमा मृत्यु हुने र आत्महत्याका समस्यामा धेरै नेपालीहरु पर्ने गरेका छन् । व्यवसायी तामाङ भन्छन, ‘एसईई पास गरेका देखि एमए गरेका युवाहरु कोरिया पुगेका छन् तर सबैले गर्ने काम भनेको एउटै स्तरको हो, समस्या सबैका उस्तै छन् ।’
काम र कमाइ
सम्झौता अनुसार कोरिया जाने नेपालीले पाँच क्षेत्रमा काम गर्न पाउँछन् । कृषि, उत्पादनमूलक क्षेत्र, निर्माण, मत्स्यपालन र कृषि उत्पादन क्षेत्रमा नेपालीहरुले रोजगारी पाउँछन् । इपीएसमा आवेदन दिनेहरु उत्पादनमूलक र कृषि क्षेत्रमा धेरैको संख्यामा हुने गरेका छन् । जसमध्ये कृषि र माछा मार्ने काममा नेपालीहरुलाई समस्या पर्ने गर्छ ।
कृषिमा दिनरात खटिनुपर्छ भने माछा मार्न नेपालीहरुले धेरै जोखिम मोल्नुपर्छ । हप्तौं हप्तासम्म जहाजमा बसेर समुद्रमा माछा मार्नुपर्दा नेपाली कामदार तनावमा हुन्छन् । अन्य क्षेत्रमा पनि कामदारलाई उस्तै जोखिम र सकस छ ।
नेपालीहरु मेहेनती र इमान्दार भएको भन्दै कोरियाली मालिकहरुले कामको जिम्मेवारी अनुसार दिने सेवा सुविधा भनेको एकै स्तरको हुन्छ । सन २०१७ पछि कोरियामा कार्यरत कामदारले मासिक न्यूनतम १ लाख २५ हजार रुपैयाँ पाउँछन् ।
त्यसबाहेक ओभरटाइमबाट सरदर कमाइ दुईलाख रुपैंयाँको हाराहारीमा पुर्याउँछन् । कोरिया सरकारले बर्षेनी तलब बृद्धि गर्ने र कोटा बढाउने गरेकाले पनि यसतर्फ नेपाली युवाहरुको क्रेज बढीरहेको छ । यद्यपी, इपीएस र अन्य खर्चमार्फत नेपालबाट ठूलो रकम कोरिया गइरहेको तथ्यांक पनि बाहिर आएको छ ।
प्रतिक्रिया दिनुहोस्