Logo २४ असार २०८३, बुधबार | Wed Jul 8 2026


प्रतिक्रियावादी ‘अनर्गल’ प्रचारमा : दाहाल


0
Shares

चितवन, मंसिर ९ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले नेकपा नेतृत्वको वर्तमान सरकारले आफ्नो सीमा कसैलाई नछाड्ने बताएका छन् ।

नेकपाको भरतपुर महानगरपालिका–१६ निर्वाचन परिचालन समितिले सोमबार विजयनगरमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले देशको एक इन्च जमिन पनि अरूलाई नछोड्ने र अरुको पनि नलिइने बताए ।

अध्यक्ष दाहालले भने–‘सरकारले यसको कूटनीतिक पहल सुरु गरिसकेको छ । नेपालको भूिम फिर्ता भएरै छाड्छ ।’

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सीमा विवादका विषयमा असान्दर्भिक टिप्पणी गरेको बताउँदै उनले भने–‘अब भ्रम छरेर झुट्टा र आधारहीन हल्ला चलाएर शक्ति आर्जन गर्ने दिन गयो ।’

दुई पार्टीबीचको एकता संसारलाई नयाँ सन्देश दिँदै देशमा समृद्धि, सुशासन, स्थायित्व र विकासका लागि भएको उनको भनाइ थियो ।

उनले पार्टी एकता प्रधानमन्त्री बन्न हतारो भएर स्वार्थबाट नभएको स्पस्ट पारे ।

अध्यक्ष दाहालले एकतापछिको नेकपा पानीको फोका नभएको भन्दै यो नयाँ नेपाल निर्माण गरेर देखाउने मुख्य आधार भएको बताए ।

उनले थपे–‘प्रधानमन्त्री केपी शर्मा ओली पाँच वर्ष सरकारको नेतृत्वमार्फत् राष्ट्र निर्माणमा लाग्नुहुन्छ, म पार्टीको सुदृढीकरण र संगठन विस्तारमा केन्द्रित हुन्छु ।’

अध्यक्ष दाहालले आसन्न उपनिर्वाचनमा ८० प्रतिशतभन्दा बढी स्थानमा नेकपाले विजय हासिल गर्ने दाबी गरे ।

नेकपाको नेतृत्वमा गठित सरकारले देशको योजनाबद्ध विकासमा खेलेको भूमिकाका कारण देखिएको जनलहर देखेर प्रतिक्रियावादी ‘अनर्गल’ प्रचारमा लागेको उनको भनाइ थियो ।

चितवन क्षेत्र नम्बर–३ का निर्वाचित सांसदसमेत रहेका दाहालले आफ्नो पहलमा भएका विकास निर्माणका कार्यहरु र भावी योजना पनि सुनाएका थिए ।

उनले नेकपाको उम्मेदवारलाई मतदान गर्न पनि अपिल गरे ।

निर्वाचन परिचालन समितिकी संयोजक दिलकुमारी थापा रावलको सभापतित्वमा भएको कार्यक्रममा प्रदेश नम्बर–३ का सहइन्चार्ज काशीनाथ अधिकारी, प्रदेश अध्यक्ष नारायण दाहाल, प्रदेशसभा सदस्य कृष्ण भूर्तेल, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, नेकपाबाट वडाध्यक्षका उम्मेदवार भक्तराज हमाललगायतले बोलेका थिए । रासस