काठमाडौं, मंसिर ९ । यही मंसिर १५ गतेदेखि नेपालमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग)को पुरुष फुटबलतर्फ अन्तिम टोलीको घोषणा भएको छ ।
मिडफिल्डर सुजल श्रेष्ठको कप्तानीमा घोषित खेलाडीहरुमा विकेश कुथु, अर्पण कार्की, दीप कार्की, अनन्त तामाङ, विकास खवास, विक्रम लामा र छिरीङ गुरुङ रहेका छन् ।
त्यस्तै, सेसेहाङ आङदेम्बे, सुमन अर्याल, नितिन थापा, तेज तामाङ, रेजिन सुब्बा, अभिषेक रिजाल, राजेश परियार, प्रेजेन तामाङ, मिक्छेन तामाङ, हेमन्त थापामगर, सुनील बल र राजीव लोप्चन रहेका छन् ।
अनुशासनको कारबाहीका कारण फरवार्ड विमल घर्तीमगर, मिडफिल्डर अन्जन विष्ट र डिफेन्डर दिनेश राजवंशीलाई सागबाट हटाइएको छ ।
उनीहरुको स्थान राजीव, प्रेजेन र राजेशले लिएका हुन् ।
सुजलसँगै सागमा सिनियर खेलाडीकारुपमा मिडफिल्डर विक्रम लामा र गोलकिपर विकेश कुथु रहेका छन् ।
सागको नियमअनुसार २३ वर्षमाथिका तीन खेलाडीमात्र टोलीमा समेट्न पाइने प्रावधान छ ।
टोलीले सोमबार दशरथ रंगशालामा अभ्याससमेत गरेको छ ।
भारतले सहभागिता नजनाउने
सागको पुरुष फुटबलतर्फ भारतले सहभागिता नजनाउने बताएको छ । योसँगै अब पाँच राष्ट्रको मात्र सहभागिता रहने भएको छ ।
एन्फाले दुई समूह विभाजन गर्दै यसअघि खेलतालिका सार्वजनिक गरे पनि अब ‘राउन्ड रोबिन लिग’का आधारमा हुने प्रतियोगिताका लागि नयाँ तालिका सार्वजनिक गर्नेछ ।
पुरुष फुटबलमा साविक विजेता नेपालसहित बंगलादेश, भुटान, माल्दिभ्स र श्रीलंकाले मात्र खेल्नेछन् ।





प्रतिक्रिया दिनुहोस्