Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


जोनसन एण्ड जोनसनको खोपमा आंशका उब्जियो


13
Shares

काठमाडौं, असार ३० । कोभ्याक्स कार्यक्रम अन्तर्गत अमेरिकाले अनुदानमा दिएको जोनसन एण्ड जोनसनको कोरोना भाइरस विरुद्धको खोपले स्नायुसम्बन्धी कोषलाई असर गर्ने कुरा बाहिरिएपछि खोपलाई लिएर शंका उब्जिएको छ ।

अमेरिकाको औषधी सम्बन्धी नियामक निकायले खोपले स्नायु सम्बन्धी दुर्लभ समस्या देखिएको जनाएपछि खोपको प्रभावकारितामा प्रश्न उब्जिएको हो । जसमा विज्ञहरुले सबै प्रकारका खोपमा दुर्लभ किसिमका केही समस्या देखिने सम्भावना रहने तर यो अत्यन्त न्यून संख्यामा हुने हुँदा ढुक्क भएर खोप लगाउन आग्रह गरेका छन् ।

सवा करोड जनालाई खोप लगाउँदा सय जनामा यस्तो समस्या देखिएको बताइएको छ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग विशेषज्ञ डा. शेरवहादुर पुनले खोपले स्वास्थ्य समस्या देखाउन सक्छ है भनेर उनीहरुले पहिले नै जानकारी गराएको भन्दै सबै खोपको दुर्लभ असर हुने हुँदा खोपलाई लिएर कुनै शंका नगर्न आग्रह गर्नुभयो ।

जोनसनको खोपले असर गर्छ कि गर्दैन भन्ने विषयमा स्वास्थ्य मन्त्रालयले समेत अनुसन्धान गर्ने जनाएको छ । कोभिसिल्ड र भेरोसेल खोपको पनि केही दुर्लभ प्रभाव रहेको बताइन्छ । विश्व स्वास्थ्य संगठनले प्रयोग गर्न अनुमति दिइसकेको खोप सरकारले साउन ४ गते देखि ६ गते सम्म ५० देखि ५४ बर्ष उमेर समुहका व्यक्तिलाई लगाउने निर्णय गरिसकेको छ ।

अमेरिकाले एक डोज मात्र लगाए पुग्ने १५ लाख ३४ हजार ८ सय ५० डोज जोन्सन एण्ड जोन्सन खोप नेपाललाई दिएको हो ।