जाँदाजाँदै ओलीको झुटो दावी, डेढ करोड खोप आउनेबारे मन्त्रालय अनविज्ञ « Image Khabar


जाँदाजाँदै ओलीको झुटो दावी, डेढ करोड खोप आउनेबारे मन्त्रालय अनविज्ञ


प्रज्ञा तिमल्सीना
२९ असार २०७८, मंगलवार १९:०६

प्रज्ञा तिमल्सीना
काठमाडौं । कोरोना भाइरसको नियन्त्रण र खोप खरिदमा चुकेको ओली नेतृत्वको सरकारले बिदाइ हुने समयमा पनि विरोध पूर्ण दावी गरेको छ ।

खोप खरिद गर्न नसकेका कारण १४ लाख ज्येष्ठ नागरिकलाई ४ महिनासम्म दोस्रो डोज खोप दिन नसकेको समयमा सबै नागरिकलाई पुग्ने खोप सुनिश्चित भएको निवर्तमान प्रधानमन्त्री केपी ओलीले गर्नुभयो । तर, ओलीको दाबीमा मन्त्रालयका जिम्मेवार अधिकारी नै अनविज्ञ देखिएका छन् ।

ओलीले कोरोना भाइरस विरुद्धको डेढ करोड डोज खोप नेपाल आउने सुनिश्चित भसकेको दाबी गर्नुभयो । प्रधानमन्त्रीको रूपमा राष्ट्रको नाममा अन्तिम सम्बोधन गर्दै ओलीले १ करोड ५० लाख डोज खोप प्राप्त गर्ने सुनिश्चित भइसकेको बताउनुभयो । चीन, जापान र अमेरिकाबाट अनुदानमा प्राप्त र खरिद गरेर डेढ करोड डोज खोप आउने ओलीको दाबी थियो ।

नेपालले हालसम्म भारतबाट २० लाख र चीनसँग ४० खोप मात्र खरिद गरेको छ । भारतसँग खरिद गरिएको २० लाख डोज खोप मध्ये १० लाख डोज मात्र प्राप्त भएको छ । १० लाख डोज खोप आउने नआउने अझै टुङ्गो छैन । यस्तै चीन सरकारसँग खरिद गरिएको भेरोसेल खोप ८ लाख प्राप्त भएको छ । बाँकी आउने क्रममा छ ।

चीन सरकार सँग खरिद गरिएको र भारतबाट आएको गरी हाल सम्म ५० लाख डोज खोप नेपाल आउने छन् । तर चीन, अमेरिका र जापानबाट १ करोड डोज खोप अनुदानमा आउने सुनिश्चित भइनसकेको मन्त्रालयका पदाधिकारी बताउँछन् ।

कोभ्याक्स कार्यक्रमले नेपाललाई ६० लाख जनसंख्यालाई पुग्ने खोप दिने बताएको छ । कोभ्याक्स कार्यक्रमबाट हालसम्म कोभिसिल्ड ३ लाख ४८ हजार, अमेरिकाले दिएको जोनसन एण्ड जोनसनको १५ लाख डोज खोप आइसकेको छ । जापान सरकारले कोभिसिल्ड नै १६ लाख डोज खोप दिने जनाएको छ ।

त्यो बाहेक जापान र अमेरिकाबाट थप खोप आउने सुनिश्चिता भइनसकेको मन्त्रालयको भनाइ छ । हालसम्म १८ लाख डोज खोप अनुदानमा दिइसकेको चीन सरकारले थप खोप अनुदानमा दिने कुनै कुरा नै नभएको मन्त्रालयका पदाधिकारी बताउँछन् ।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार केही मात्रा खोप आउने चरणमा रहेको तर कति खोप आउने भन्ने टुङ्गो नलागेको बताउनुहुन्छ ।

निवर्तमान प्रधानमन्त्री ओलीले बालबालिकालाई लगाउन सकिने ६० लाख डोज खोप खरिदको प्रक्रिया अघि बढेको भन्ने विषय पनि पुष्टि हुन सकेन । हालसम्म मोडर्ना कम्पनीले मात्र बालबालिकालाई लगाउन सकिने खोप उत्पादन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्