Logo २५ असार २०८३, बिहिबार | Thu Jul 9 2026


सीमाका विषयमा सबै एक ठाउँमा उभिनुपर्छ – नेता पाण्डे


0
Shares

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले सीमाका विषयमा सबै एक ठाउँमा उभिनुपर्ने बताएका छन् ।

नेपाल पत्रकार महासङ्घले आज यहाँ आयोजना गरेको सांसदसँग संवाद कार्यक्रममा उनले सरकार, विपक्षी, अन्य दल र आम नेपालीले सीमाका विषयमा एउटै आवाज बनाउनुपर्ने बताए ।

सार्वभौमसत्ता र जमीन दिने कुरामा नेपालीले कदापि सम्झौता नगर्ने भन्दै उनले यस विषयमा एकले अर्कोलाई आरोप प्रत्यारोप गर्न नहुने बताए ।

उनले भने, “सीमा सबै मिलेर रक्षा गरौँ, देशको भूभाग गुमोस् भन्ने कसैले पनि चाहँदैन ।” एक ठाउँमा उभिएर कस्सिएर वार्ता गर्नुपर्ने भन्दै उनले थपे, “ठूलो आवाज भयो भने आज नपाइएला एउटा विन्दुमा गएर सहमति नखोजी धर पाउँदैन ।”

सरकारले प्रयासको थालनी गरेको भन्दै यसअघि कतिपय सरकारले आपत्तिसमेत जनाउन नसकेको उनले बताए ।

सरकारका कामका सन्दर्भमा उनले घोषणापत्र आफैँमा महत्वकाङ्क्षी भएकाले पूरा गर्न कठिन हुने बताए । आफ्नो पार्टीले घोषणा पत्र बनाउँदा यथार्थ धरातलमा नलेखेका कारण ५०/६० प्रतिशतभन्दा बढी पूरा गर्न कठिन हुने जानकारी दिए ।

घोषणापत्र निर्माणका क्रममा कतिपय विषय सच्याउन लगाएको पाण्डेको भनाइ थियो । यद्यपि पार्टीले विकास र परिवर्तनका विषयलाई घोषणापत्रमा राख्नु सकारात्मक भएको बताए ।

हरेक क्षेत्रमा सहभागिता र समानुपातिक भनियो तर गुणस्तर नखोज्दा समस्या देखिएको पाण्डेको ठम्याइ थियो । रासस