ईमेज विवेक/खड्का
दाङ । मंसिर १४ गते हुन लागेको उपनिर्वाचन नजिकिँदै गर्दा दाङका गाउँगाउँमा चुनावी माहोल बढ्न थालेको छ ।
भोट माग्ने बेला ठूला ठूला आश्वासन दिने गरेको भन्दै मतदाताले उम्मेद्वारलाई जनताका आधारभूत समस्यामा केन्द्रित हुन आग्रह गरेका छन् ।
दाङको क्षेत्र नं. ३ (ख) मा हुने प्रदेश सभा उपनिर्वाचनका लागि उम्मेद्वारहरु बिहानदेखि राति अबेरसम्म टोल-टोलमा गइ चुनावी प्रचारप्रसारमा व्यस्त देखिन्छन् ।
विशेष गरी घरदैलो कार्यक्रमलाई उम्मेद्वारले तीव्रता दिएका छन् । पार्टीका स्थानीय कार्यकर्तादेखि पार्टीका केन्द्रीय नेताहरु समेत प्रचारप्रचारमा संलग्न छन् ।
जसरी भए पनि नतिजा आफ्नो पक्षमा पार्ने प्रतिस्पर्धा उम्मेद्वारहरुबीच चलेको देखिन्छ । मतदाताहरुले भने बाटोघाटो तथा पुल निर्माण, कृषि क्षेत्रको विकासलगायतका विकास निर्माणका कामलाई प्राथमिकतामा राख्नेका पक्षमा मतदान गर्नुपर्ने बताउँदै आएका छन् ।
आश्वासनप्रतिभन्दा पनि उम्मेद्वारको कार्यशैली, क्षमता तथा इमान्दारीजस्ता पक्षलाई विचार गरेर मतदाता गरिने उनीहरुको भनाइ छ ।
जनताले भोग्नुपरेका वास्तविक समस्यालाई जसले सम्बोधन गर्छ उसैलाई अवसर दिनुपर्ने मतदाताको मनोभाव देखिन्छ ।
यस क्षेत्रमा सत्तारुढ दल नेकपा र काँग्रेसका उम्मेद्वारबीचमै प्रतिस्पर्धा हुने देखिएको छ । जसमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट स्वर्गीय प्रदेशसभा सदस्य उत्तरकुमार ओलीकी जीवनसंगीनी विमलाकुमारी खत्री ओलीले उम्मेदवारी दर्ता गराएकी छिन् ।
त्यस्तै नेपाली कांग्रेसबाट केशवराज शर्माको उम्मेदारी परेको छ । प्रदेशसभा सदस्य उत्तरकुमार ओलीको सवारी दुर्घटनामा निधन भएपछि उक्त क्षेत्र रिक्त भएको थियो ।
यसअघिको निर्वाचनमा तत्कालीन नेकपा एमालेका उम्मेद्वार उत्तरकुमार ओलीले २३ हजार ९ सय ७० मत ल्याउँदै विजयी भएका थिए भने काँग्रेसका बुद्धिराम भण्डारीको १७ हजार ५ सय ३५ मत आएको थियो ।
निर्वाचन आयोगका अनुसार यस क्षेत्रमा अहिले २४ हजार ६८ मतदाता थपिएका छन् ।









प्रतिक्रिया दिनुहोस्