Logo २४ असार २०८३, बुधबार | Wed Jul 8 2026


कपिलवस्तुका सीमास्तम्भ जीर्ण अवस्थामा, ढलेका स्तम्भ उठाउन भएन पहल


0
Shares

-मनिष गुप्ता/ ईमेज

कपिलवस्तु । सीमा क्षेत्रमा पर्ने अधिकांश सीमास्तम्भहरु जीर्ण अवस्थाका भइसके पनि संरक्षणको प्रभावकारी पहल हुन सकेको छैन ।

पुनर्निमाणका लागि दुवै देशका प्राविधिक टोलीको आवश्यकता पर्ने भए पनि त्यसको लागि केन्द्रीयस्तरबाटै पहलकदमी हुन नसकेको हो ।

वर्षायाममा आएको बाढीले कपिलवस्तुको विजयनगर गाउँपालिकाको वडा नम्बर ५ र ६ स्थित सीमा क्षेत्रका ५ वटा सीमा स्तम्भ ढालेको थियो ।

तर ४ महिना बितिसक्दा पनि ती अलपत्र अवस्थामै छन् । त्यस्तै कतिपय सीमास्तम्भहरु क्षतिग्रस्त अवस्थामा रहेका छन् ।

स्थानीयले सरकारले सीमा स्तम्भको संरक्षण गर्न नसकेको गुनासो गरिरहेका छन् । विजयनगर क्षेत्रमा मात्र  ५ वडा स्तम्भहरु जीर्ण भई ढलेका छन् ।

अर्को पटकको वर्षात्मा ती स्तम्भ बगाउने सम्भावना छ । सीमाक्षेत्रमा पुगेर नेपाल प्रहरीले दैनिकजसो निरीक्षण गरे पनि केही गर्न सकेको छैन ।

दुई देशीय केन्द्रीयस्तरको सर्वेक्षकसहितको प्राविधिक टोलीले मात्र संरक्षण गर्न सक्ने भएकाले सीमा स्तम्भ संरक्षणमा ढिला भएको हो ।

उता सशस्त्र प्रहरी गुल्म कृष्णनगर क्षेत्रमा रहेका २ सय ८९ सीमास्तम्भमध्ये एउटा जङ्गे पिल्लरसहित अन्य सीमास्तम्भ पनि जीर्ण अवस्थामा छन् ।

प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठका अनुसार स्तम्भको अवस्थाबारे बुझ्न सुरक्षा अधिकारी सहितको टोली पठाइएको छ ।

दुवै देशका पदाधिकारी बसेर स्तम्भ उठाउनुपर्ने पहल भएकाले  भारतीय पदाधिकारी र नेपालका अधिकारीहरुले ध्यान दिनुपर्ने प्रमुख  जिल्ला अधिकारी श्रेष्ठको भनाइ छ । 

विकट क्षेत्र रहेको जवावैराठमा रहेका केही स्तम्भहरु पनि जिर्ण रहेका छन् । अन्य धेरै ठाउँमा पनि पुराना र जीर्ण भइसकेका तथा ढलेका सीमास्तम्भको संरक्षण तथा मर्मत हुन सकिरहेको छैन ।

कपिलवस्तुमा पर्ने सीमाक्षेत्रमा ४६ वटा मुख्य सीमास्तम्भ, २ सय २६ सहायक सीमास्तम्भ र २ सय ६० साना सीमा स्तम्भ गरी कुल ५ सय ३२ सीमा स्तम्भ छन् ।

तीमध्ये अधिकांश स्तम्भको पुनर्निमाण गर्नुपर्ने देखिएको छ ।