
काठमाडौं, मंसिर ७ । चालू आर्थिक वर्षको पहिलो त्रैमासिकमा विप्रेषण आप्रवाहमा कमी आएको छ ।
नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक र वित्तीय स्थितिबारे सार्वजनिक गरेको प्रतिवेदनअनुसार चालू आर्थिक वर्षको पहिलो त्रैमासिकमा विप्रेषण आप्रवाहमा ४.९ प्रतिशतले कमी आएको हो ।
समीक्षा अवधिमा विप्रेषण आप्रवाहमा ४.९ प्रतिशतले कमी आइ २३० अर्ब २४ करोड रुपैयाँ कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
चालू आर्थिक वर्ष सुरु भएयता साउनमा २ प्रतिशतले बढेको थियो भने भदौमा ०.३ प्रतिशतले कमी आइ असोज महिनामा करिब ५ प्रतिशतले घटेको हो ।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ३७.३ प्रतिशतले बढेको थियो ।
श्रम स्वीकृति लिनेको संख्यामा कमी आएका कारण विप्रेषण आप्रवाहमा कमी आएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
समीक्षा अवधिमा अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण)का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ३.७ प्रतिशतले घटेको राष्ट्र बैंकको तथ्यांक छ । अघिल्लो वर्षको सोही अवधिमा यो संख्या ३४.८ प्रतिशतले घटेको थियो ।
समीक्षा अवधिमा पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ०.९ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ४.७ प्रतिशतले घटेको थियो ।
प्रतिक्रिया दिनुहोस्