८ असार २०८१, शनिबार | Sat Jun 22 2024


न्वारनको भोज खाँदा ५० जनाभन्दा बढी बेहोस


0
Shares

नवराज छत्कुली

धादिङ, साउन १३ । जिल्लाको गजुरी गाउँपालिका–४, गैरीगाउँमा न्वारनको भोज खाँदा ५० जनाभन्दा बढी बेहोस भएका छन् ।

आइतबार गैरीगाउँ निवासी अनिल चेपाङको छोरीको न्वारनमा भोज खाएकाहरु बेहोस भएको स्थानीय विजय चेपाङले बताए । 

भोज खाएपछि सबैजसोलाई रिगंटा लाग्ने, वाकवाक लाग्ने र केही समयपछि नबोल्ने भएको चेपाङले बताए । खाना खाएको केही समयपछि मानिसहरु टोलाउन थालेपछि भोज खान बाँकी रहेकाहरुले भोज खान छाडेका छन् ।

सुरुमा पुरेत शुक्रबहादुर चेपाङ र भान्छामा सहयोगीको काम गर्ने बीरसिंह चेपाङले खाना खाएका थिए । शुक्र बहादुरलाई केही नभए पनि बीरसिंहलाई खाना खाएको आधा घण्टापछि वाकवाक लागेको र रिगंटा लागेजस्तो भएको उनले बताए ।

न्वारनको भोज खान करिव एक सय जनाको हाराहारीमा स्थानीय जम्मा भएका थिए ।

घटना भएपछि इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थलतर्फ गएको प्रहरी निरीक्षक संजय तिमिल्सिनाले जानकारी दिए ।

पानी परेको र हिलो बाटो भएका कारण घटनास्थलसम्म पुग्न समस्या भएको तिमिल्सिनाले बताए । घटनास्थल गजुरीबजारबाट १३÷१४ किलोमिटर कच्ची बाटो हिड्नुपर्ने हुन्छ ।