अमेरिकाले उपलब्ध गराउने १५ लाख खोप सोमबार बिहान काठमाडौं आइपुग्ने « Imagekhabar – Online News Portal of Nepal


अमेरिकाले उपलब्ध गराउने १५ लाख खोप सोमबार बिहान काठमाडौं आइपुग्ने


0
Shares

काठमाडौं । अमेरिकाले कोभ्याक्स कार्यक्रममार्फत नेपाललाई उपलब्ध गराउन लागेको कोभिड–१९ विरुद्धको खोप आगामी सोमबार काठमाडौं आइपुग्ने भएको छ ।

अनुदानस्वरूप उपलब्ध गराउन लागेको कोरोनाविरुद्धको जोन्सन एण्ड जोन्सनको १५ लाख डोज खोप सोमबार बिहान काठमाडौं आइपुग्ने प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले जानकारी दिनुभयो ।

शनिबार दिउँसो फेसबुकमार्फत डा. भट्टराईले खोप उपलब्ध गराउन लागेको अमेरिकी सरकार र पहलकर्ताहरूलाई धन्यवाद दिनुभएको छ । साथै उहाँले थप खोप ल्याउने पहलमा सरकार निरन्तर लागिरहेको पनि जानकारी गराउनुभएको छ । जोन्सन एण्ड जोन्सन एक डोज मात्र लगाए हुने खोप हो ।

उता, चीनबाट खरिद गरिएको भेरोसेल खोपको आठ लाख डोज शुक्रबार बिहान नेपाल आइपुगेको छ । सरकारले चीनको सिनोफार्म कम्पनीसँग ४० लाख डोज भेरोसेल खोप खरिदको सम्झौता गरे अनुसार पहिलो खेप खोप नेपाल आएको हो । नेपाल वायु सेवा निगमको वाइडबडी विमान बिहीबार साँझ खोप लिन बेइजिङ गएको थियो ।