
काठमाडौं, मंसिर ६ । अर्थमन्त्री डा. युवराज खतिवडाले जलविद्युत् क्षेत्रका उद्यमीहरुलाई बैंकको ब्याजदरलार्ई मात्र समस्या देखाएर नबस्न सुझाव दिएका छन् ।
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान)ले गरेको ‘पावर समिट २०१९’ को शुक्रबार समापन गर्दै मन्त्री खतिवडाले जलविद्युत्का लागि बैंकको ब्याजदर तोकिएको र सोहीअनुसार नै कायम हुने बताएका हुन् ।
अरु समस्या भए राख्न आग्रह गर्दै उनले सरकारको उद्देश्य उत्पादन र बिक्री दुवै महत्वपूर्ण रहेकाले यसतर्फ पनि ध्यान दिन उद्यमीहरुलाई सुझाए ।
‘डुइङ बिजनेस रिपोर्ट’मा पनि सुधार आएकाले नेपालमा लगानीको वातावरण सहज बन्दै गएको पुष्टि भएको मन्त्री खतिवडाको दाबी छ ।
नेपालमा विद्युत् प्रसारणलाइनका लागि सहजकर्ताकारुपमा मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) पनि भएकाले नेपालबाट विद्युत् व्यापारका लागि अझै सहयोग पुग्ने मन्त्री खतिवडाले उल्लेख गरे ।
कार्यक्रममा जलविद्युत् क्षेत्रका उद्यमी तथा व्यवसायीले नेपालमा जलविद्युत् क्षेत्रमा लगानी गर्नका लागि नीतिगत असहजता तथा बैंकको ब्याजदर नै मुख्य बाधक रहेको बताएका थिए ।
एसियाली पूर्वाधार विकास बैंकका महानिर्देशक इ यान पाङले जलविद्युत् कम्पनी निर्माणमा सरकारले सहजकर्ताको भूमिका खेल्नुपर्ने र नीतिगत सुधार गर्नुपर्नेमा जोड दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्