Logo २१ माघ २०८२, बुधबार | Wed Feb 4 2026


‘साग’ फुटबलको खेलतालिका सार्वजनिक, पुरुषतर्फ नेपाल सहज समूहमा


0
Shares

काठमाडौं, मंसिर ६ । १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत्को फुटबलको खेलतालिका सार्वजनिक भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार टाइसिट ‘ड्र’ गरेको हो ।

सोअनुसार पुरुष फुटबलमा नेपाल तुलनात्मकरुपमा सहज समूहमा परेको छ । नेपाल रहेको समूह ‘ए’मा बंगलादेश र भुटान रहेका छन् ।

६ टोली सहभागी पुरुष फुटबलको समूह ‘बी’मा भारत, श्रीलंका र माल्दिभ्स रहेका छन् ।

हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

नेपालले यही मंसिर १५ गते बंगलादेशसित खेल्दै सागको सुरुआत गर्नेछ । त्यस्तै, १९ गते भुटानसित खेल्नेछ ।

फाइनल खेल साग समापनको दिन मंसिर २४ गते हुनेछ ।

पुरुषतर्फका सबै खेलहरु त्रिपुरेश्वरस्थित दरशरथ रंगशालामा हुनेछन् । नेपाल साविकको स्वर्णपदक विजेता हो ।

महिलातर्फ चार राष्ट्रको मात्रै सहभागिता

साग महिला फुटबलतर्फ चार राष्ट्रको मात्रै सहभागिता रहने भएको छ ।

नेपाल, भारत, श्रीलंका र मादिभ्सले ‘राउन्ड रोबिन लिग’का आधारमा खेल्नेछन् । अंकतालिकाको शीर्ष दुईमा रहनेबीच स्वर्णपदकका लागि भिडन्त हुनेछ ।

पोखरा रंगशालामा मंसिर १७ गतेदेखि हुने महिला फुटबलको फाइनल खेल मंसिर २३ गते हुनेछ ।

नेपालको पहिलो खेल मंसिर १७ गते श्रीलंकासित, १९ गते माल्दिभ्ससित र २१ गते भारतसित हुनेछ ।

महिला फुटबलतर्फ हालसम्म सागका सबै संस्करणमा भारतले स्वर्णपदक जित्दा नेपाल रजतपदकमा सीमित हुँदै आएको छ ।