३२ असार २०८२, बुधबार | Thu Jul 17 2025


यो हो तेस्रोलिंगीले चलाएको ‘गेस्टहाउस’


0
Shares

गृष्मा राजभण्डारी र दिलिप पोखरेल (इमेज) 

काठमाडौं, मंसिर ६ । पुरुष र महिलाबाहेक अर्को अर्को लिंगी पनि हुन्छ भनेर स्वीकार्न गाह्रो परेको हाम्रो समाजमा तेस्रो लिंगीहरुले ‘गेस्टहाउस’ नै चलाएका छन् भन्ने सुन्दा आश्चर्य लाग्नु स्वाभाविक हो ।

तर, काठमाडौंको गोंगबुमा तिनै तेस्रोलिंगीहरुले विभिन्न बाधा–अड्चनकैबीच पनि गेस्टहाउस सन्चालन गरिरहेका छन् ।

राजधानी काठमाडौंको गोंगबु क्षेत्रस्थित मिलनटोलमा पुगेपछि ‘सुपर सेती महाकाली’ नामको गेस्टहाउस भेटिन्छ । यो घर हेर्दा सामान्य लाग्छ । तर, यो गेस्टहाउसले बोकेको फरक कथा भने भित्र पसेपछिमात्र थाहा हुन्छ ।

यसको फरक कथा हो, यो समाजले अपहेलित नजरले हेर्ने तेस्रोलिंगीहरुले सन्चालन गरेको गेस्टहाउस हुनु ।

२०७४ सालमा खोलिएको यस गेस्टहाउसको अधिकांश कोठा तेस्रोलिंगीहरुले नै भाडामा लिएका छन् । त्यसमा पनि यौनधन्दा गर्ने तेस्रोलिंगीहरु । उनीहरु महिनाको ८ हजार रुपैयाँको दरले भाडा बुझाउँछन् ।

गेस्टहाउस सन्चालक हुन्, जिया केसी । उनी सामान्य व्यक्तिहरुले झैं आफूले पनि व्यवसायका लागि गेस्टहाउस खोलेको जानकारी दिन्छिन् ।

तर, गेस्टहाउस सन्चालन सँगसँगै ‘धन्दा’ चलाउन थालेको पो हो कि भन्ने विषयमा भने सन्चालक यो मान्न तयार छैनन् ।

त्यसो त त्यही गेस्टहाउसमा विगत दुई वर्षदेखि कोठा भाडामा लिइ बसेकी जस्मीन भने गेस्टहाउसको कोठा भाडा तिर्न र दैनिकी चलाउन समस्या नभएकोले यस पेसा ठीकै लागेको बताउँछिन् ।

यता, प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले भने गेस्टहाउसमा हुने गरेको अवैध क्रियाकलापबारे स्थानीय समुदायले विरोध गरेतापनि हालका दिनमा कसैले गुनासो र उजुरी नदिएका कारण खासै फरक नपरेको जानकारी दिए ।

कहिले–काहीँ प्रहरीको फन्दामा पर्ने भएकाले त्यसबाट जोगिने त्रास भने उनीहरुलाई रहिरहन्छ ।

समाजबाट अपहेलित बनाइएका उनीहरु भन्छन्, ‘अरु साधारण मानिससरह जिउन पाउने आफूहरुको पनि अधिकार छ ।’ यस्ता किसिमका गेस्टहाउस खोलिँदा आफूहरुलाई सहज भएको उनीहरुको प्रतिक्रिया छ ।

कसैको अवरोध नहुँदा उनीहरु फुर्सदमा नाचगान गरेर रमाइलो पनि गर्दछन् ।

आफूहरुलाई छुट्टै व्यापार–व्यवसायका लागि सहज वातावरण बनाइ पेट पाल्ने अवस्था बनाइदिन उनीहरुको सरकारसँग आग्रह छ । सडकमा बसेर यस्तो व्यवसायमा लाग्ने रहर नभएको पनि उनीहरु बताउँछन् ।

समाजमा भिज्ने प्रयास गर्दा पनि अनेक असहजता र अप्ठ्यारो झेल्नुपरेको उनीहरुको भनाइ छ ।

भिडियो हेर्नुहोस्