४ असार २०८२, बुधबार | Thu Jun 19 2025


कांग्रेसमा संस्थापन इतरबाट सभापतिमा एक जना मात्र उम्मेदवार बनाउन अर्जुननरसिंह केसीले बोलाए बैठक


0
Shares

काठमाडौं । नेपाली कांग्रेसमा १४ औं महाधिवेशन नजिकिँदै गर्दा आकांक्षीहरुले एकपछि अर्को गर्दै सभापतिमा उम्मेदवारीका लागि लबिङ गर्न थालेका छन् ।

संस्थापन पक्षमा सभापति शेरबहादुर देउवा नै एकल उम्मेदवार हुने अवस्था देखिँदा संस्थापन इतरका समूहमा भने आकांक्षीहरुले भटाभट उम्मेदवारीका लागि इच्छा प्रकट गरिरहेका छन् ।

अझ पछिल्लो पटक देउवा खेमामा रहेका नेता बिमलेन्द्र निधिले पौडेल समूहका प्रकाशमान सिंह र शशांक कोइरालासँग नयाँ समीकरण बनाउने भन्दै छलफलको अग्रसरता लिएपछि पौडेल समूहमा हलचल मच्चिएको छ ।

यसरी आफू आफू नै उम्मेदवारी घोषणामा लाग्ने हो भने यस पटक पनि सभापतिमा देउवालाई हराउन नसकिने बताउँदै आउनुभएका नेता अर्जुननरसिंह केसीले संस्थापन इतरबाट सभापतिमा एक मात्र उम्मेदवार बनाउन पहल थाल्नुभएको छ ।

निकै अगाडीदेखि यस अभियानामा रहनुभएका पूर्व सहमहामन्त्री केसीले शुक्रवार संस्थापन इतरका नेताहरुलाई छलफलका लागि अपराह्न बोलाउनुभएको हो ।

१४ औं महाधिवेशनमा सभापतिका लागि कांग्रेसको संस्थापन इतरबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंह, नेता डा.शेखर कोइरालाले लगातार दाबी गर्दै आउनुभएको छ ।

सबैले दाबी गरे अपाm्नो पनि नेतृत्वमा दावी रहेको बताउनुहुने केसीले पार्टीका नेतृत्व परिवर्तन गर्ने हो भने संस्थापन इतरका नेता एकजुट हुनुको विकल्प नरहेको बताउँदै आउनुभएको छ । यसैका लागि उहाँले नेता पौडेलसँग रुष्ट रहनुभएका पूर्व महामन्त्री कृष्ण सिटौलासमेतलाई यस अभियानमा जोड्ने प्रयास गरिरहनुभएको छ । शुक्रबारको बैठकमा नेता सिटौलासमेत उपस्थित हुनुहुनेछ ।

१३ औं महाधिवेशनमा देउवा नेतृत्वको प्यानलबाट महामन्त्रीमा प्रतिस्पर्धा गर्नुभए पनि महाधिवेशनलगत्तै उहाँ पूर्व शिविरमै फर्कनुभएको थियो । कांग्रेसमा महाधिवेशन नजिकिएसँगै सभापतिमा दावी पेश गर्नेहरु बढ्दा संस्थापन इतरमा अली बढी नै समस्या देखिएको छ ।

आजको भेटघाटमा नेताहरु रामचन्द्र पौडेल, कृष्ण सिटौला, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्यहरू बलबहादुर केसी, रामशरण महत, शेखर कोइराला र सुजाता कोइरालालगायतलाई बोलाइएको हो ।

संस्थापन इतरका नेताहरुबीच सहमति बनाएर पार्टीलाई नयाँ शिराबाट अगाडी लैजान आफूले निरन्तर प्रयास गरिरहेको र सोही प्रयासको निरन्तरता आजको बैठक भएको नेता केसीले प्रतिक्रिया दिनुभयो ।

कांग्रेसको १४ औं महाधिवेशन भदौ १६ देखि १९ गतेसम्मलाई तोकिएको छ भने वडा अधिवेशन भने साउन १२ गते हुनेछ । यद्यपि, क्रियाशील सदस्यताको विवाद अझै नमिल्दा तोकिएको समयमा महाधिवेशन हुनेमा शंका बढेको छ ।