
चितवन, साउन १३ । विश्व बाघ दिवस चितवनमा पनि मनाइएको छ ।
विश्व बाघ दिवस २०१८ को अवसरमा आइतबार बाघ संरक्षण उप–समितिले सौराहामा एक कार्यक्रम गरी दिवस मनाएको हो ।
सो क्रममा वक्ताहरुले दुर्लभ बाघको मुख्य बासस्थान नै चितवन राष्ट्रिय निकुञ्ज भएकोले बाघ संरक्षणको लागि चितवन जिल्लाबाटै पहल गर्नुपर्ने बताए ।
रत्ननगर नगरपालिकाका मेयर नारायण बनले बाघ संरक्षणको लागि सबैभन्दा पहिले फोहोर व्यवस्थापन हुनुपर्नेमा जोड दिए ।
यस्तै विश्व बाघ दिवसको अवसरमा आज (आइतबार) रत्ननगर नगरपालिकास्थित टिकौलीमा बाघ संरक्षण उप–समितिले आयोजना गरेको कार्यक्रममा मान्छेले नै अनुहारमा बाघको चित्र कोरेर बाघ संरक्षणको सन्देश दिएका छन् ।
कसैले गालामा सानो चित्र बनाए भने कसैले पूरै अनुहारमा बाघको चित्र कोर्न भ्याए । अनुहारमा बाघको चित्र कोरेर बाघ संरक्षणको लागि सन्देश दिन खोजिएको संरक्षणकर्मीहरूले बताए ।
सोही अवसरमा संरक्षणकर्मीहरूले मुख्य राजमार्गमा चल्ने सवारी साधनमा बाघ संरक्षणको स्टिकर टाँसेर सन्देश फैलाएका छन् भने बाघ संरक्षणबारे बनाइएको ब्रुसर समेत वितरण गरिएको थियो ।
चितवन राष्ट्रिय निकुञ्ज बाघको मुख्य बासस्थान भएको क्षेत्र मानिन्छ । सन् २०२२ सम्ममा नेपालमा बाघको संख्या २४० पु¥याउने सरकारको योजना छ । सन् २०१३ को तथ्यांकअनुसार नेपालमा बाघको संख्या १९८ पुगेको छ भने त्यसमध्ये चितवनमा मात्रै १२० पुगिसकेको चितवन राष्ट्रिय निकुञ्जको तथ्यांकमा उल्लेख छ ।
यो वर्ष गणना गरेको आधारमा चितवन राष्ट्रिय निकुञ्जमा बाघको संख्या बढेको अनुमान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्