Logo २५ असार २०८३, बिहिबार | Thu Jul 9 2026


नेकपाको विवाद झन् चर्कियो


0
Shares

सरोज अधिकारी (इमेज)

काठमाडौं, मंसिर ५ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र विवाद व्यवस्थापनका लागि भन्दै पुष्पकमल दाहाललाई कार्यकारी अध्यक्ष र मन्त्रिपरिषद् पुनर्गठन भएपनि विवाद भने साम्य हुनुको सट्टा थप बढ्दै गएको छ ।

अध्यक्ष दाहालनिकटका नेताहरुसमेत यो निर्णयबाट खुसी छैनन् भने वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयप्रति सन्तुष्ट भएनन् ।

पार्टी एकीकरण भएको डेढ वर्षपछि दाहाललाई कार्यकारी अध्यक्ष बनाइएको छ ।

बुधबारको सचिवालय बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यक्ष ओली पाँच वर्ष वर्तमान संसदको पूर्ण अवधि प्रधामन्त्री बन्ने र अर्का अध्यक्ष दाहाल कार्यकारी अध्यक्ष हुने बताए ।

सचिवालयको बैठकको निर्णय सार्वजनिक हुँदा नहुँदै ओलीनिकटका व्यक्तिहरुले दुई अध्यक्षबीचको सहमति भनेर चारबुँदे सहमति सार्वजनिक गरे । जुन सहमति हेर्दा प्रवक्ताले भनेजस्तो अधिकार अध्यक्ष दाहाललाई नदिइएको प्रस्ट हुन्छ ।

दाहालनिकटका नेताहरु नै ‘प्रचण्ड भुलभुलैयामा परेको’ टिप्पणी गरिरहेका छन् ।

सहमतिपत्रमा पार्टीका सबै निर्णय सहमतिमा गर्नुपर्ने र बैठकको अध्यक्षतासमेत संयुक्त हुने उल्लेख छ । अहिले पनि नेकपा यसरी नै चलिरहेको छ । चारबुँदे सहमतिमा भनिएको छ– 

१. अध्यक्षद्वय कमरेडहरू केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को वरीयताक्रम यथावत् रहने ।

२. अध्यक्ष कमरेड केपी शर्मा ओली प्रधानमन्त्रीको हैसियतले सरकारको काममा केन्द्रित हुने र अध्यक्ष कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ कार्यकारी अधिकारसहित पार्टी काममा केन्द्रित हुने । बैठक संयुक्त अध्यक्षतामा सन्चालन गर्ने । आमरूपमा बैठकको अध्यक्षता र सन्चालन कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने ।

३. प्रतिनिधिसभाको यस कार्यकालमा सरकारको नेतृत्व अध्यक्ष कमरेड केपी शर्मा ओलीले गर्ने र राजनीतिक स्थायित्वको सन्देश दिने ।

४. पार्टी र सरकार सन्चालन अध्यक्षद्वयबीचको आपसी सल्लाहमा गर्ने । पार्टी सन्चालन गर्दा वैधानिक व्यवस्था र कमिटी प्रणालीलाई प्रभावकारीरूपमा कार्यान्वयन गर्ने ।

वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधरसमेत यो निर्णयबाट सन्तुष्ट छैन । पहिल्यैदेखि आफूनिकटका व्यक्तिहरु देशैभर पेलिएको अनुभूति गरेको नेपाल पक्ष मन्त्रिपरिषद् पुनर्गठनमा झन् आफूनिकटका धेरै मन्त्री हटाइएकोमा रुष्ट छ । नेपालनिकट मानिने नेता रघुजी पन्त सचिवालयको निर्णयबाट कुनै उत्साहित हुने अवस्था नरहेको बताउँछन् ।

मन्त्रिपरिषद् पुनर्गठनले वरिष्ठ नेता झलनाथ खनाल पनि सन्तुष्ट छैनन् । हटाइएका मन्त्री आफैं सन्तुष्ट हुने कुरै भएन ।

मन्त्रिपरिषद् पुनर्गठन र कार्यकारी अध्यक्ष तोक्ने निर्णयले नेकपाभित्रको विवाद साम्य हुनुको सट्टा फेरि बढ्दै जाने सम्भावना देखिएको छ ।

भिडियो हेर्नुहोस्