प्रदीप पौडेल (इमेज)
पोखरा, मंसिर ५ । १३औं दक्षिण एसियाली खेलकुद (साग)लाई लक्षित गरी पोखरा रंगशालामा जारी निर्माणकार्य अन्तिम चरणमा पुगेको छ ।
रंगशालामा हालसम्म ९० प्रतिशत काम सम्पन्न भइसकेको निर्माण कम्पनीले जनाएको छ ।
रंगशालाभित्र क्रिक्रेट मैदान, आर्चरी खेल मैदान, ब्याडमिन्टन कभर्डहल, पोखराको बहुउद्देश्य कभर्डहललगायतको भौतिक संरचनाको काम सकिएको छ ।
प्यारापिट जडान जारी
अहिले फुटबल मैदानको दायाँ–बायाँ प्यारापिट जडानको काम भइरहेको छ ।
१५ कन्टेनर सामान आइपुगेपछि दुई फ्रान्सेली प्राविधिकको उपस्थितिमा प्यारापिट जडानको काम थालिएको हो ।
यही मंसिर १५ गतेदेखि पोखरा रंगशालामा १३औं सागअन्तर्गत्को महिला फुटबल खेल हुँदैछ ।
फुटबल मैदान निर्माण कम्पनी भारतीय ग्रेड स्पोर्ट्स प्रालि र एमए कन्स्ट्रक्सन प्रालिले संयुक्तरुपमा गरिरहेका छन् ।
कम्पनीका प्रोजेक्ट म्यानेजर दीपक बरालले मंसिर १२ गतेभित्र सम्पूर्ण काम सकेर मैदान हस्तान्तरण गर्ने बताए ।
‘अबको पाँच दिनभित्र प्यारापिट जडानको काम सकिनेछ’–उनले भने ।
उनकाअनुसार ८ हजारभन्दा बढी दर्शक क्षमताको प्यारापिट जडान गरिनेछ ।
मैदानको दुबोसमेत फेरिएको छ ।
फुटबल प्रतियोगिता सुरु हुन केही दिनमात्रै बाँकी रहँदा काम भने रात–दिन भइरहेको छ ।
सागमा समावेश २८ खेलमध्ये पोखरामा ८ खेल हुनेछन् । १९ खेल काठमाडौंमा हुनेछन् । कुस्ती खेल जनकपुरमा हुनेछ ।
सागको उद्घाटन काठमाडौंस्थित दशरथ रंगशालामा मंसिर १५ गते हुनेछ ।







प्रतिक्रिया दिनुहोस्